२७ मंसिर, बर्दिबास – जीवनराज दाहाल/मिथलेश सिंह। बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क) तथा चौथो भेला मिति २०८२ साल मंसिर २७ गते शनिबार बर्दिबासमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा बर्दिबास नगरपालिका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रम दुई चरणमा सम्पन्न भयो। पहिलो चरणमा नियमित साहित्यिक शृङ्खला र दोस्रो चरणमा बन्दसत्र (भेला) आयोजना गरिएको थियो। प्रतिष्ठानका सचिव यशोदा श्रेष्ठले ७५औँ शृङ्खलाको सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष जीवनस्पर्शीले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि हिरा गौतमले ७५ अङ्क अंकित दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का, बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना प्रमुख निर्मल घिमिरे, जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष मोहमद कामरुदिन नदाफलगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना, प्रलेस नेपाल केन्द्रीय सदस्य विमला वि.क., लेखनाथ स्मृति सदन महोत्तरीका अध्यक्ष जनक पौडेल, जनता बहुमुखी क्याम्पस व्यवस्थापन समिति सदस्य हेमसागर वाग्ले, प्रलेस नेपाल धनुषा जिल्ला अध्यक्ष गणेश घिमिरे, साहित्यकार मदन प्रभात, लिलानाथ गौतम, दिनेश पौडेल, सर्लाही साहित्य समाजकी सचिव सुमित्रा आचार्य, मिथिला साहित्य प्रतिष्ठान धनुषाका सचिव निरप्रसाद शर्मा, मूर्तिकार गोविन्द खड्का, लायन्स क्लब महोत्तरीका निर्वतमान अध्यक्ष दीपक महतो, पत्रकार सुनिता बराल र विशाल बस्नेत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्तरीका अध्यक्ष बेलबहादुर परियारलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा कविता, गीत, गजल तथा मुक्तक वाचन गरिएको थियो । रचना प्रस्तुत गर्नेहरूमा केदार गौतम, लिलानाथ गौतम, पूर्ण परियार, समीक्षा परियार, सपना परियार, उद्धव आचार्य ‘अविचल’, गणेश तिमिल्सिना, नारायण घिमिरे, जनक प्रसाद पौडेल, मोहमद कामरुदिन नदाफ, सुमित्रा आचार्य, धन नारायण श्रेष्ठ, नानीराम दहाल, निरप्रसाद शर्मा, राजेश भण्डारीलगायत रहेका थिए। शून्य समयमा जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पनि रचना प्रस्तुत गरेका थिए । सारङ्गी वादक सुमन सारङ्गीको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो भने समीक्षा परियारको गायनले बालबालिकामा उत्साह थपेको थियो।
कार्यक्रममा बोल्दै अतिथि विष्णु खड्काले महोत्तरी जिल्लाबाट सुरु भएर मधेश प्रदेशभर सक्रिय रहेको प्रतिष्ठानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अघि बढ्न शुभकामना व्यक्त गरे। अतिथि निर्मल घिमिरेले प्रतिष्ठानले निरन्तर मासिक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै यसको निरन्तरताप्रति विश्वास व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि कवि तथा गजलकार पुरुषोत्तम आचार्यले कार्यक्रमको सुरु, बीच र अन्त्यमा गरी तीन पटक आफ्नो रचना प्रस्तुत गरेका थिए। उनका रचना र सुमधुर स्वरले उपस्थित श्रोतालाई मन्त्रमुग्ध बनाएको थियो।
प्रमुख अतिथि हिरा गौतमले २०७४ सालमा स्थापना भएर निरन्तर सक्रिय रहेको यस संस्थाले समाजमा चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले साहित्यले अनुशासन र समाज परिवर्तनमा योगदान दिने बताउँदै नगर पर्यटन प्रवर्द्धन कोषबाट वार्षिक एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले व्यक्तिगत रूपमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले ७५औँ (हीरक) अङ्क विशेष शृङ्खलामा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरे। उनले २०७५ साल भदौ ९ गतेबाट सुरु भएको शृङ्खला २०८२ साल मंसिरमा ७५औँ अङ्कमा पुग्नुमा साहित्य अनुरागीहरूको साथ, सहयोग र समर्पण प्रमुख कारण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे। साथै कार्यक्रमका लागि हल उपलब्ध गराउने दीपक पार्टी प्यालेस बर्दिबासका सञ्चालक दीपक महतोप्रति आभार व्यक्त गरे।
दोस्रो चरणमा सम्पन्न बन्दसत्रमा अध्यक्ष रामचन्द्र पौडेलले कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै पुरानो समिति विघटन गरे। त्यसपछि सर्वसम्मत रूपमा नयाँ समिति गठन गरिएको छ।
नवगठित समितिमा
- अध्यक्ष: यशोदा श्रेष्ठ
- उपाध्यक्ष: केदार गौतम
- सचिव: पवन वाग्ले
- सहसचिव: जीवनराज दाहाल
- कोषाध्यक्ष: विमला वि.क.
- सदस्यहरू: किशोर कुमार अधिकारी, जीवनस्पर्शी, प्रविण पौडेल
रहेका छन्। बाँकी सदस्यहरू समितिको पूर्ण बैठकबाट चयन गरिने जनाइएको छ।
त्यसैगरी विभागीय जिम्मेवारी अन्तर्गत काव्य विभाग संयोजक रामचन्द्र पौडेल, खोज तथा अनुसन्धान विभाग संयोजक जीवनस्पर्शी, आख्यान विभाग संयोजक लिलानाथ गौतम तथा प्रचारप्रसार विभाग संयोजक जीवनराज दाहाल तोकिएका छन्। बाँकी विभागहरूको गठन पूर्ण बैठकबाट गरिने बताइएको छ।
कार्यक्रमको अन्त्यमा निर्वतमान अध्यक्ष रामचन्द्र पौडेलले नवगठित समितिका अध्यक्ष यशोदा श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।










