काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिस्पर्धा गर्न एक सय दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
निर्वाचन आयोगले मंसिर २१, २२ र २३ गते समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तोकेको थियो। सो अवधिमा ९७ वटा दलले निवेदन दर्ता गराएका छन्। तीमध्ये विभिन्न सात दल आ–आफ्नै गठबन्धनमा रहेका छन् र संयुक्त चुनाव चिह्न प्रयोग गर्नेछन्। गठबन्धनमा रहेका दलहरू समेत गरी कुल एक सय दल समानुपातिकतर्फ प्रतिस्पर्धामा उत्रिने भएका हुन्।
आयोगले प्राप्त निवेदनमाथि अध्ययन गरी मंसिर २६ गतेसम्म दर्ता स्वीकृत गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। समानुपातिक उम्मेदवारको बन्दसूची आगामी पुस १३ र १४ गते पेस गर्नुपर्ने छ। प्रारम्भिक सूची माघ ४ गते सार्वजनिक गरिनेछ भने दाबी–विरोध तथा उजुरी छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशित हुनेछ।
प्रतिनिधिसभामा २७५ सदस्य छनोट हुने व्यवस्था अनुसार १६५ जना प्रत्यक्षतर्फ र बाँकी ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चुनिने छन्। प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता आगामी माघ ६ गते हुने छ।









