२२ मंसिर, बर्दिबास (महोत्तरी)
जनता साहित्यिक मञ्च गौरीडाँडाको १८औँ नियमित साहित्यिक शृङ्खला सोमबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष प्राची सुवेदीको अध्यक्षता तथा जनता माध्यमिक विद्यालय गौरीडाँडाका प्रधानाध्यापक रामदयाल महतोको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । शृङ्खला मञ्चको माथिल्लो सदनको आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन मञ्चकी उपाध्यक्ष विद्या साहले गरेकी थिइन् भने स्वागत मन्तव्य मञ्चकी सचिव दिलिसा कार्कीले व्यक्त गरिन् ।
शुभकामना मन्तव्य दिने अतिथिहरूमा प्रशिक्षक सौरभ शर्मा, रामचन्द्र पौडेल, सहायक प्रधानाध्यापक सरिता कार्की र प्रधानाध्यापक रामसकल महतो रहेका थिए । कार्यक्रममा विभिन्न लयका कविता वाचन गरिएको थियो । कविता वाचन गर्ने स्रष्टाहरूमा कृष्ण पौडेल, लेखनाथ श्रेष्ठ, रितु गिरी, कृति महत, होमबहादुर कार्की, स्वेच्छा महतो, रितिशा अर्याल, जिज्ञासा बैजु, सुजिना लगायत थिए । कक्षा ११, १२ तथा डिप्लोमा तहका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा खेलकुद प्रशिक्षक टेकबहादुर स्याङ्बा पनि अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा बोल्ने प्रमुख तथा विशिष्ट अतिथिहरूले विद्यार्थीहरूको चौतर्फी ज्ञान विकासमा साहित्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै साहित्यिक मञ्चले विद्यार्थीलाई साहित्यतर्फ आकर्षित गर्न प्रेरणा दिएको धारणा राखे । आगामी दिनमा थप विद्यार्थीलाई समेट्दै साहित्यिक उन्नयनका लागि निरन्तर अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्राची सुवेदीले १८औँ शृङ्खलामा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र सहभागिताको अपेक्षा व्यक्त गरिन् । कार्यक्रम सोही मन्तव्यसँगै समापन भयो ।










