बर्दिबास। सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाइ गरेपछि किसानहरू गम्भीर समस्यामा परेका छन्। खेतमा उब्जिएको उखु काट्नपनि नसकिने गरी सुक्न थालेपछि किसानहरूको चिन्ता झन् बढेको छ। एक लाखभन्दा बढी किसानले झन्डै २ करोड २० लाख क्विन्टल उखु उत्पादन गरे पनि मूल्य नतोकिँदा आर्जन अनिश्चित बनेको नेपाल उखु उत्पादक कृषक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले जानकारी दिए।
उनका अनुसार किसानहरूले चालु क्रसिङ सिजनका लागि प्रतिक्विन्टल ७५० रुपैयाँ समर्थन मूल्य माग गरेका छन्। उखु खेतीमा लगानी उच्च भएकोले मूल्यमा वृद्धि आवश्यक भएको किसानहरूको भनाइ छ। ‘गत वर्षभन्दा अनुदानसहित प्रतिक्विन्टल ९५ रुपैयाँले मूल्य बढाउनुपर्ने हाम्रो माग हो,’ उनले भने, ‘गत वर्ष प्रतिक्विन्टल ५३५ रुपैयाँ समर्थन मूल्य तोकिएको थियो।’
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मंसिर २९ भित्र समर्थन मूल्य तोक्ने तयारी भइरहेको जानकारी महासंघका केन्द्रीय सदस्य थिङले दिए। विगत वर्षहरूमा पनि मूल्य निर्धारणमा ढिलाइ हुने गरेको किसानहरूको गुनासो छ।
यता उखु किसानहरूले गत वर्षको बक्यौता अनुदान रकम भुक्तानी गर्न समेत सरकारसँग माग गरेका छन्। प्रतिक्विन्टल ३५ रुपैयाँका दरले आउने अनुदान भुक्तानी नगरेको भन्दै उनीहरूले गत मंसिर ९ गते कृषि मन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। देशभरका करिब एक लाख किसानलाई गत वर्षको ७५ करोड ५१ लाख १२ हजार रुपैयाँ अनुदान रकम अझै बाँकी रहेको छ।
सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले उखु खेतीमा अनुदान दिने गरे पनि बजेट अभाव देखाउँदै ५० प्रतिशत कटौती गरेको थियो। उक्त कटौती गरिएको अनुदान उपलब्ध गराउनुपर्ने माग राख्दै किसान लगातार आन्दोलनमा छन्।
कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले किसानका माग सम्बोधन गर्न प्रधानमन्त्री तहसम्म पहल भइरहेको बताए। ‘उखुको समर्थन मूल्य र बक्यौता अनुदानबारे छिट्टै टुंगो हुन्छ,’ उनले भने, ‘सरकारका आफ्नै बाध्यता छन्, तर किसानका मागलाई गम्भीरतापूर्वक छलफल भइरहेकै छ।’
यसैबीच, जेन-जीको समर्थनमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले पनि किसानका मागमा अपेक्षित ध्यान नदिएको किसानहरूको आरोप छ। ‘‘दसैं, तिहार, छठजस्ता चाडपर्वमा समेत बक्यौता रकम नपाउँदा हामी किसानको पर्व खल्लो भयो,’’ उखु उत्पादक किसान संघ रामनगर महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘‘नवगठित सरकार र मन्त्रीलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि उखु किसानको पीडा अझै सुन्ने कोही छैन।’’









