१९ मंसिर, जनकपुरधाम। मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सात दलीय गठबन्धनको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन्। कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीसहितका ७७ जना सांसदहरूको समर्थन उनीसँग रहेको छ।
यसअघि संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलका हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव गत मङ्सिर १७ गतेसम्म मुख्यमन्त्री रहेका थिए। विश्वासको मत लिन नसकेपछि उनले पदबाट राजीनामा दिए र त्यसपछि प्रदेश प्रमुखले उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
गत कार्तिक २३ गते राति एमालेका यादव धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त भएको विरुद्ध सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सोही र अन्य तीन रिटको संयुक्त सुनुवाइपछि सर्वोच्च अदालतले मङ्सिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिने निर्देश दिँदै, मत लिन नसके उपधारा (२) अनुसार नयाँ सरकार गठनको मार्ग खुला गर्ने परमादेश जारी गरेको थियो।









