१९ मंसिर, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूले आज (शुक्रबार) दाबी पेश गर्न तयारी गरेका छन्। प्रदेश प्रमुखले तोकेको समयअनुसार साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्नेछ।
दाबी प्रस्तुत गर्नु अघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा बनेको एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाउन सक्ने सदस्यलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
गत २४ कात्तिकमा बर्दिवासको एक होटलमा शपथ लिएर विवादमा तानिएका मुख्यमन्त्री यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो। तर विश्वासको मत लिन नसकेपछि उनले १७ मंसिरमा राजीनामा दिएका थिए। सोही दिन प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी माग गरेका थिए।
नयाँ मुख्यमन्त्री टुंगो लगाउन सात दल-नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी-बीच बिहीबार आठ घण्टा लामो छलफल भएको थियो। जसपा संसदीय दलका नेता सरोजकुमार यादवले गठबन्धनभित्र सहमति भइसकेको र शुक्रबार दिउँसो २ बजे नै सात दलले संयुक्त रूपमा दाबी पेश गर्ने बताएका थिए। उनका अनुसार गठबन्धनको भावना अनुसार सरकार गठन हुनेछ र मुख्यमन्त्रीसँगै सबै दलबाट मन्त्रीहरूले पनि एकैपटक शपथ लिनेछन्।
तर छलफलमा सहभागी एक सांसदका अनुसार अन्तिम निर्णयका लागि शुक्रबार पुनः बैठक बस्ने सहमति भएको छ।









