महोत्तरी। महोत्तरीको औरही-२ निवासी स्नातक तहका विद्यार्थी अशोक मण्डल (धानुक) स्थानीय समुदायमा सामाजिक–आर्थिक रुपान्तरणका प्रेरणादायी पात्रका रूपमा परिचित बन्दै गएका छन्। बजारबाट प्राप्त IPO नाफामध्ये १० प्रतिशत रकम समाजसेवामा खर्च गर्ने उनको निर्णय केवल उदारता मात्र होइन, नयाँ पुस्तामा बढ्दै गएको सामाजिक उत्तरदायित्वको सशक्त संकेत हो।
उनी बसोबास गर्ने समुदायमै उपचार अभावमा परेकालाई सहयोग पुर्याउनु, शैक्षिक सामग्री नपाएका विद्यार्थीलाई पुस्तक–कलम वितरण गर्नु, विपन्न परिवार तथा विपद्पीडितलाई राहत उपलब्ध गराउनु, वृद्धवृद्धाको हेरचाहमा साथ दिनुजस्ता कार्यका कारण मण्डल सामान्य युवाभन्दा फरक ‘सचेत नागरिक’ को रूपमा उदाएका छन्।
सामुदायिक विद्यालयमा पुस्तक तथा स्टेशनरी वितरण, रक्तदान अभियानमा निरन्तर सहभागिता, सडक सरसफाइ तथा खेलकुद सामग्री वितरणजस्ता कार्यक्रमले उनी सामाजिक विकासका विभिन्न आयामलाई समान रूपमा सम्बोधन गर्न इच्छुक रहेको स्पष्ट देखाउँछ।
त्यसमाथि, वित्तीय सीप विकासतर्फ उनको पहल झन् महत्त्वपूर्ण छ। ५०० भन्दा बढी युवालाई IPO भर्न सिकाइसकेका मण्डल भन्छन्-“वित्तीय ज्ञान नभएकै कारण धेरैले अवसर गुमाइरहेका छन्।” आजको डिजिटल र आर्थिक प्रतिस्पर्धाको युगमा वित्तीय साक्षरता शिक्षा जत्तिकै आधारभूत आवश्यकता बनेको अवस्थामा, युवालाई आर्थिक समझ र सीप सिकाउनु भनेको उनीहरूको भविष्य सुरक्षित बनाउने काम हो।
“IPO बाट आएको नाफा केवल व्यक्तिगत लाभमै सीमित राख्नु उचित लागेन। समाजको आवश्यकतामा खर्च गर्दा नै वास्तविक सन्तोष मिल्छ,” मण्डलको भनाइले उनको चेतना र मनोवृत्तिलाई स्पष्ट झल्काउँछ। व्यक्तिगत सफलतासँगै सामाजिक दायित्व पूरा गर्ने संस्कार युवा पुस्तामा मजबुत भयो भने त्यसले समुदाय मात्रै होइन, राष्ट्रकै प्रगतिमा दीर्घकालीन प्रभाव पार्ने स्थानीयवासीहरूको विश्वास छ।
उनको नेतृत्व र निरन्तर सेवा भावना औरही-२ मात्र होइन, आसपासका बस्तीहरूमा समेत चेतना, सहभागिता र वित्तीय ज्ञान फैलाउन सफल भएको स्थानीयवासीहरू बताउँछन्। यसले देखाउँछ। एक व्यक्तिको सकारात्मक पहलले ठूलो समुदायमा परिवर्तन ल्याउन सक्ने क्षमता राख्छ।
अन्ततः अशोक मण्डलको उदाहरणले स्पष्ट सन्देश दिन्छ। सामाजिक उत्तरदायित्व र वित्तीय ज्ञानको संयोजनले युवा पुस्तालाई केवल ‘उपभोक्ता’ होइन, ‘सृजक’ बनाउँछ। उनको कथा युवाबीच फैलिन जरुरी छ, ताकि समाजले नायक खोजिरहन नपरोस् युवा नै नायक बन्न सकून्।









