धनुषा। मधेश प्रदेशको राजनीतिक संकट झन् गहिरिएको छ। विश्वासको मत लिन असफल भएपछि मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामाले प्रदेशमा फेरि सत्ता-समिकरणको दौड सुरु भएको छ।
मुख्यमन्त्री यादवले पदत्याग गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। दाबी पेश गर्न भोलि शुक्रबार साँझ ५ बजेसम्मको समय तोकिएको छ।
यससँगै मधेश प्रदेशले तीन वर्षमै पाँचौं मुख्यमन्त्री पाउने निश्चितजस्तै भएको छ। २०७९ सालको चुनावपछि ३६ महिनाको अवधिमा चार मुख्यमन्त्री बदलिँदा प्रदेशमा राजनीतिक अस्थिरता झन् चर्किँदै गएको छ।
विशेषगरी पछिल्ला तीन महिनामात्रै प्रदेश सरकारले तीनवटा मुख्यमन्त्री भोगिसकेको छ। एमालेका सरोजकुमार यादवले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको मार्ग खुलेको हो।
यसअघि संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका आधारमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २३ गते एक होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उक्त नियुक्ति असंवैधानिक रहेको भन्दै सात दलका ७४ प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। मंसिर १५ गते सर्वोच्चले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि यादवको सरकार अल्पकालमै पतन भएको हो।
नयाँ सरकार गठनका लागि मधेशका दलहरू आन्तरिक तथा आपसी छलफलमा जुटिरहेका छन्।









