काठमाडौं। जनमत पार्टी परित्याग गरेर गठिएको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नयाँ नाम ‘सर्वोदय’ राखेर निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गरिएको छ। दीपक कुमार साहको नेतृत्वमा ‘सर्वोदय’ नाममा दल दर्ता गरिएको आयोग स्रोतले जनाएको छ।
जनमतका उपाध्यक्ष तथा अनुशासन समिति संयोजक रहेका साहलाई पार्टीले कारबाही गरेपछि उनले जनमत पार्टी छोडेर ‘जनस्वराज’ नामक नयाँ दल गठन गरेका थिए। तर जनमतका अध्यक्ष डा. सीके राउतले कारबाही परेका समूहले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै अदालतमा रिट दायर गरेका थिए।
सुनुवाइपछि अदालतले ‘जनस्वराज’लाई मान्यता नदिने निर्णय गरेपछि साह समूहले पार्टीको नाम परिवर्तन गरी ‘सर्वोदय पार्टी’का रूपमा निर्वाचन आयोगमा दर्ता गरेको हो।
नवदर्ता सर्वोदय पार्टीको अध्यक्ष साह नै रहेका छन्। पार्टीको आधिकारिक चुनाव चिह्न ‘मकैको घोगा’ तोकिएको छ।



















