जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत नपाउने लगभग निश्चित भएसँगै राजीनामा दिने तयारीमा छन्। उनी प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेर पदत्याग गर्ने मनसायमा रहेको स्रोतहरू बताउँछन्।
आज बिहान साढे ८ बजे विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक सुरु हुन सकेको छैन। मुख्यमन्त्री स्वयं बैठकमा नआएपछि उपसभामुखले बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी छन्।
विश्वासको मत नपाउने अवस्था
१०७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मत कायम राख्न कम्तीमा ५४ मत आवश्यक छ। तर ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, तीमध्ये एक जना निलम्बित छन्। एमालेसँग नेपाल संघीय समाजवादी र राप्रपाबाट पनि एक-एक मतको साथ छ।
त्यसमाथि राप्रपाकी मन्त्री कञ्चन बिच्छाको सांसद पद नै धरापमा परेको छ। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै राप्रपाले उनको पद खारेज गर्न आइतबार नै प्रदेश सभा सचिवालयमा पत्र पठाइसकेको छ।
यसबीच सात दलीय गठबन्धन भने एकताबद्ध देखिएको छ। गठबन्धनमा कांग्रेस २२, जसपा नेपाल १८, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी जम्मा ७३ सांसद छन्।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
गत कात्तिक २२ गते विश्वासको मत नपाउने निश्चित भएपछि लोसपाका नेता तथा तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका थिए। त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
भण्डारीले अस्वस्थताको बहाना बनाएर काठमाडौँ जाने तयारी गर्दै तर बर्दिवासको एक होटलमै झिसमिसे बिहानीमा यादवलाई शपथ गराएको घटनाले ठूलो विवाद निम्त्याएको थियो। त्यसप्रति असन्तुष्ट दलहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।
सुनुवाइपछि सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार आज प्रदेश सभा बैठक बोलाइएको हो।









