जनकपुरधाम। मधेश प्रदेश सभाको बैठक तोकिएको समयभन्दा करिब दुई घन्टा ढिलो सुरु भएलगत्तै स्थगित गरिएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले दिउँसो २ बजे मात्र विश्वासको मत लिने आफ्नो अडान दोहोर्याएपछि बैठक सोही समयसम्मका लागि सारिएको हो।
प्रदेश सभा सचिवालयले बुधबार बिहान साढे ८ बजे विश्वासको मत प्रक्रियाका लागि बैठक बोलाएको थियो। तर बैठक ढिलो गरी सुरु भए पनि मुख्यमन्त्रीसहित एमालेका सांसदहरू उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठकलाई दिउँसो २ बजेसम्म स्थगित गरेको घोषणा गरिन्।
तर साढे १० बजेसम्म पनि मुख्यमन्त्री यादव प्रदेश सभामा पुगेका थिएनन्। विपक्षी दलका सांसदहरू भने बिहानै ८:३० बजे उपस्थित भई बैठकको पर्खाइमा बसेका थिए। नेकपा एमालेका केही सांसदहरू समेत त्यही समयमा सभाहल पुगेका थिए।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने वातावरण मिलाईदिन प्रदेश सभा सचिवालयलाई दिउँसो २ बजे बैठक राखिदिन हिजै पत्र पठाएका थिए। यद्यपि, मंगलबार साँझ बसेको सर्वदलीय बैठक तथा कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बिहान ८:३० बजे बैठक बस्ने सहमति गरेको थियो।
मुख्यमन्त्री यादवले आफ्नो पत्रअनुसार समय निर्धारण नगरी उपसभामुखले विपक्षी दलहरूको उक्साहटमा बिहानै बैठक बोलाएको आरोप पनि लगाए।
‘विगतमा मुख्यमन्त्रीहरूको आग्रहअनुसार नै विश्वासको मतका लागि समय तोकिँदै आएको थियो, तर यसपटक मेरो पत्रअनुसार समय नदिई दलहरूको दबाबमा बिहानै बैठक राखियो,’ उनले टिप्पणी गरे।
अन्ततः मुख्यमन्त्री यादवकै आग्रहअनुसार उपसभामुख ईशरले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत आज दिउँसो २ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको जनकारी दिइन्।









