जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिनका लागि बोलाएको प्रदेश सभा बैठक तोकिएको समयभन्दा ढिलाइ हुँदै सुरु हुने भएको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु भएको छैन।
आज प्रदेश सभा भवन तथा आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बैठक सुरु हुनु अघि तालिम प्राप्त कुकुर प्रयोग गरी सुरक्षा जाँच गरिएको छ। यसअघि पनि विश्वासको मत लिने दिनमा एकपटक यस्तो सुरक्षा जाँच गरिएको थियो। जेनजी आन्दोलनका क्रममा सुरक्षा उपकरणहरू जलाइएपछि कुकुरमार्फत जाँच गर्ने प्रचलन सुरु भएको प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले बताए।
सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि आज बैठक बसेको हो।
संविधानको धारा १६८(२) अनुसार सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिती देखिएपछि कात्तिक २२ गते राजीनामा दिएका थिए।
उनको पश्चात् तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। अस्वस्थ भएर काठमाडौं उपचारका लागि जान्छु भन्दै मधेश भवनबाट निस्किएकी भण्डारीले बर्दिवासको एक होटलमा झिसमिसे बिहानीमा यादवलाई शपथ गराएपछि विवाद झनै बढेको थियो।
त्यसपछि असन्तुष्ट पक्षहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।









