विश्वासको मतका लागि मधेश प्रदेशसभा बैठक बुधबार बिहान ८:३० बजे


जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुपर्ने भएपछि प्रदेशसभा बैठक बुधबार बिहान ८:३० बजेका लागि आह्वान गरिएको छ। उपसभामुख बबिता राउत ईश्वरले बैठक बोलाएकी हुन्।

सर्वोच्च अदालतले परमादेश जारी गर्दै मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि उनले प्रदेशसभामा आवश्यक वातावरण मिलाइदिन मंगलबार पत्र पठाएका थिए। उनले दिउँसो २ बजे बैठक राखिदिन अनुरोध गरे पनि मंगलबार साँझ बसेको सर्वदलीय बैठकले बुधबार बिहान ८:३० बजे बैठक बस्ने निर्णय गरेको हो।

१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सदस्य आवश्यक पर्छ। तर मुख्यमन्त्री यादवसँग हाल २६ सदस्यको मात्र समर्थन छ। तीमध्ये नेकपा एमालेका २४ जना, नेपाल संघीय समाजवादी पार्टीका एक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद रहेका छन्।

यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सो नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट दायर भएका थिए।

विश्वासको मतको प्रक्रियालाई सघाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बुधबार बिहान ७ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको