महाभियोग विवादका बीच मधेश प्रदेशसभाका १३ करार कर्मचारी बर्खास्त, पाँच स्थायी कर्मचारीसँग स्पष्टीकरण


जनकपुर। मधेश प्रदेशसभाले महाभियोग प्रस्ताव दर्ताको क्रममा देखिएको विवादका आधारमा १३ जना करार कर्मचारीलाई बर्खास्त गरेको छ। तत्कालीन सभामुख रामचन्द्र मण्डलविरुद्ध पद तथा आचरणविरुद्धको (महाभियोग) प्रस्ताव दर्ताका बेला प्रतिपक्षी ७ दलीय गठबन्धनलाई प्रक्रियागत रुपमा असहयोग गर्ने र सांसदहरूमाथि हातपात गर्ने घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई हटाइएको हो।

उपसभामुख रामसरिता राउतका अनुसार महाभियोग दर्ताका समयमा प्रतिपक्षी सांसदमाथि हातपात तथा अवरोध सिर्जना गर्न तत्कालीन सभामुख मण्डललाई सहयोग गर्ने करार कर्मचारीहरूलाई ७ दलीय गठबन्धनको निर्णयअनुसार बर्खास्त गरिएको हो। उनका अनुसार हटाइएकामध्ये सभामुखको निजी सचिवालयबाहेकका करार कर्मचारीहरू समावेश छन्।

त्यसक्रममा तत्कालीन सभामुखका प्रमुख स्वकीय सचिव, उनका नातेदार रमेश मण्डल, स्वकीय सचिव धिरेन्द्र मण्डल र सतिश साह, साथै कम्प्युटर अपरेटरसहितका कर्मचारी मण्डलले राजीनामा दिएसँगै पदमुक्त भएका थिए। यस्तै कार्यालय सहयोगी दीपक मण्डल, विश्वनाथ यादव र एक चालकसहित करारमा कार्यरत १३ जना कर्मचारी हटाइएका हुन्।

यस अतिरिक्त ४-५ जनामाथि अनुसन्धान जारी रहेको उपसभामुख राउतले बताइन्। स्थायी दरबन्दीमा रहेका पाँच कर्मचारीलाई तत्काल कारबाही गर्न नसकिँदा उनीहरूबाट स्पष्टीकरण मागिएको छ। स्पष्टीकरण सोधिएकामा सचिव होमनाथ पहाडी, उपसचिव विपिन ठाकुर, उपसचिव सुरेन्द्र कुमार कर्ण, कानुन अधिकृत अञ्जुकुमारी न्यौपाने र नासु विजेन्द्र यादव छन्।

उपसभामुख राउतले घटनामा संलग्न तथा सभामुखको निर्देशनमा काम गर्दै संसदीय मर्यादा उल्लंघन गर्नेलाई कारबाही गरिएको स्पष्ट पार्दै भनिन्, “सभामुख पदमा नरहेपछि उनका कर्मचारीले स्वेच्छाले पद छोड्नुपर्ने हो।” उनले सातदलीय गठबन्धनको आगामी बैठकबाट थप कदम तय हुने जानकारी दिइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको