रंगको आधारमा मधेशीलगायतका समुदायमाथि भइरहेको विभेद अन्त्य गरेरै छाड्ने: राष्ट्रीय उपाध्यक्ष डा. राउत


राजविराज – चन्दन रजक। जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले नेपालमा वर्षौँदेखि मधेशी, थारु, आदिवासी–जनजाति लगायतका समुदायमाथि राज्य तथा शासक वर्गबाट नश्ल, रंग र वर्णको आधारमा दुव्र्यवहार हुँदै आएको स्पष्ट बताएका छन्।

मंसिर १० गते रंगभेदविरुद्ध एकता दिवसका अवसरमा सप्तरीको राजविराजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७१ मंसिर १० का दिन काठमाडौंको खुला मञ्चमा स्वतन्त्र मधेश गठबन्धनद्वारा आयोजित सभालाई असफल बनाउन रंगकै आधारमा भएको गिरफ्तारी नै दिवसको शुरुआतको प्रमुख कारण भएको स्मरण गराए। उक्त दिन संयोजक डा. सीके राउतसहित करिब चार सय सहभागीलाई केवल ‘रंग हेरेर’ गिरफ्तार गरिएको तथ्यलाई उनले राज्य संरचनामा गहिरोसम्म बसेको नश्लीय मानसिकताको प्रत्यक्ष उदाहरणका रूपमा व्याख्या गरे।

सुन्धारामा आफूलाई गिरफ्तार गर्ने क्रममा राज्यबाट देखिएको रंगभेदी व्यवहारले मनोवैज्ञानिक रूपमा झट्का दिएको उल्लेख गर्दै डा. राउतले, “जबसम्म राज्य प्रणालीभित्र घुलमिल भएर बसेको यो नश्लीय सोच, संरचना र व्यवहार अन्त्य हुँदैन, तबसम्म समुन्नत र समृद्ध समाज निर्माणको आधार खडा हुन सक्दैन,” भने।

जनमत पार्टीले प्रत्येक वर्षझैँ यस वर्ष पनि देशभर विभिन्न जिल्लामा रंगभेदविरुद्धका कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरेको जानकारी उनले दिए।

राजविराजको कार्यक्रममा प्रमुख अतिथि रहेका डा. राउतले मधेशी मूलका नागरिक तथा उनका सन्तानमाथि भाषाबोली, भेषभूषा, रंग, नागरिकता र राष्ट्रियताको नाममा हुने विभेदपूर्ण व्यवहार रोक्न नेपाल सरकारले ‘रंगभेद विरुद्धको ऐन’ तत्काल ल्याएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग समेत गरे।

यसअघि २०८० मंसिर ६ गते प्रतिनिधि सभाका सांसद तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले संघीय संसदमा मंसिर १० लाई ‘रंगभेदविरुद्ध एकता दिवस’ का रूपमा सरकारी रूपमा घोषणा गर्न र संसद्ले सामूहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनुपर्ने मागसहित संकल्प प्रस्ताव दर्ता गरिसकेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको