जनकपुरधाम। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन माता जानकी र भगवान् रामको विवाह भएको स्मरणमा आज देशभर राम-सीताको पूजा-आराधना गर्दै विवाह पञ्चमी पर्व उल्लासपूर्ण रूपमा मनाइँदैछ।

मिथिलाको ऐतिहासिक राजधानी जनकपुरधाममा आज राम-सीताको दिव्य विवाह महोत्सव विशेष विधि तथा परम्परागत विधिविधानसहित सम्पन्न हुँदैछ। गोस्वामी तुलसीदासद्वारा वर्णित रामायण अनुसार यसै दिन जनकनन्दनी सीताको स्वयंवर भएको विश्वासमा मिथिलावासीले विवाह पञ्चमीलाई महत्वपूर्ण धार्मिक उत्सवका रूपमा मनाउँदै आएका छन्।
१२ बिघा क्षेत्रफलमा फैलिएको जनकपुरधामको रङ्गभूमि मैदानमा राम-सीताको स्वयंवरको पुनः अवतरण गरिएको छ। बिहानैदेखि नै स्वयंवरस्थलमा भक्तजनको बाक्लो भीड लागेको छ। राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइने र साँझ जानकी मन्दिरमा भव्य विवाह कार्यक्रम सम्पन्न गरिनेछ।

विवाह महोत्सव अवलोकन तथा सहभागी हुन जनकपुर जाँदा सार्वजनिक सवारीसाधनहरू आज बिहानैदेखि अत्यधिक चापसहित चलेका छन्। महोत्तरीका भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबासलगायत स्थानबाट यात्रुहरूले कोचिएर यात्रा गरेको देखिन्छ।
यस पटक प्रत्येक पाँच वर्षमा एकपटक मात्र आउने भारतको अयोध्याबाट साधु-सन्तहरूको जन्ती समेत आएका कारण महोत्सवको भव्यता झनै बढेको छ।
पौराणिक कथन अनुसार राजा जनकले राखेको शिवधनुष उचाल्ने परीक्षामा अयोध्याका राजा दशरथका जेठा छोरा रामले धनुष तीन टुक्रा पारेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन सीता-रामको विवाह सम्पन्न भएको मानिन्छ। रङ्गभूमिमा आयोजित उक्त स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको जनविश्वास छ।
मिथिलावासीहरू सीतालाई छोरी-बहिनीको रूपमा मान्ने भएकाले आजको दिन देवी-देवतालाई अदृश्य रूपमा भए पनि सहभागिताको अनुभूति गर्दै हर्षोल्लासका साथ महोत्सवमा सहभागी हुन्छन्।
महोत्सवअन्तर्गत मिथिलाको परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार गरिन्छ। राम मन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष डोलामा राखी रङ्गभूमि पुर्याइन्छ भने जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा ल्याइन्छ। स्वयंवर तथा वैवाहिक परीक्षा सम्पन्न भएपछि दुवैलाई जानकी मन्दिर लगेर मिथिला संस्कारअनुसार विवाह विधि गरिन्छ।
शोभायात्रामा प्रदेशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय क्षेत्रबाट आएका हजारौँ भक्तजन सहभागी हुन्छन्। रङ्गभूमिमा वर-बधु पक्षबीचको हाँसो-ठट्टा, गाउँ-गाउँबाट आएका झाँकी तथा लाखौँ भक्तजनको उत्साहपूर्ण सहभागिताले वातावरणलाई वास्तविक दैवी विवाहझैँ बनाइदिन्छ। पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्ला दुई दशकयता रङ्गभूमिमै विशेष कार्यक्रमसहित आयोजना हुँदै आएको छ।
आज बिहानैदेखि श्रद्धालुहरू पवित्र सरोवर र नदीमा स्नान गरी पूजा-अर्चना गर्दैछन्। भजन-कीर्तन, रामलीला, झाँकी र धार्मिक प्रवचनलगायत कार्यक्रमले जनकपुरधाम भक्तिमय बनेको छ। देवताको मानवीयकरणसँग सम्बन्धित यस विवाह महोत्सवमा सहभागिता जनाए मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने विश्वास रहेको छ।









