जनकपुरधाम। मंसिर ४ देखि सञ्चालनमा रहेको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर विधि श्रद्धापूर्वक मनाइँदै छ।
जनकपुरधामका धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत मिथिला संस्कारअनुसार दिउँसो मटकोर गरिने जनकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णवले जानकारी दिए। बाजागाजासहितको शोभायात्रा गंगासागर पुगेर सीताको प्रतीक मानिने बालिकामार्फत विधिपूर्वक मटकोर सम्पन्न गरिने परम्परा रहिआएको छ। सो अवसरमा सयौँ भक्तजनको उपस्थितिमा मटकोर गीत गाइँदा वातावरण भक्तिमय बन्नेछ।
मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम सम्पन्न हुनेछ।
महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भएका छन्। पाँचौँ दिन आज मटकोर तथा भोलि मुख्य विवाह समारोहपछि बुधबार ‘राम कलेवा’का साथ जन्ती बनेर आएका साधु-सन्तहरूको बिदाइ गरी विवाहपञ्चमी महोत्सव विधिवत् समापन गरिने जनाइएको छ।









