विवाहपञ्चमी महोत्सवको चौथो दिन जनकपुरमा तिल्कोत्सव मनाइँदै


जनकपुरधाम। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज जनकपुरधाममा तिल्कोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ। जानकी मन्दिरबाट १००१ भार लिएर साधु–सन्तको टोली बाजागाजासहित राममन्दिर पुग्ने परम्परा अनुसार आजको तिल्कोत्सव (मैथिलीमा ‘छेका’) मनाइयो।

विवाहअघि बेहुली पक्षले बेहुला पक्षलाई भार लिएर गई टीकाटालो गर्ने प्रचलनअनुसार जानकी मन्दिरका महन्त तपेश्वर दास ‘राजा जनक’ को भूमिकामा तथा राममन्दिरका महन्त राम गिरी ‘राजा दशरथ’ को भूमिकामा रहँदै तिल्कोत्सवको प्रक्रिया अगाडि बढाइयो। दहीचुरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल तथा लत्ता-कपडासहितका १००१ भार राममन्दिर पुगेपछि तिल्कोत्सव विधिवत् रूपमा सम्पन्न गरिएको हो।

कार्यक्रमस्थल राममन्दिरमा महिलाहरूले मैथिली लोकगीत र परम्परागत ‘गाली गीत’ गाएर जनकपक्षबाट आएका साधु-सन्तहरूको स्वागत गर्ने परम्परा अनुसार सम्धि-मिलनसमेत सम्पन्न भयो।

यसअघि महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिर परिसरमा धनुष यज्ञ मनाइएको थियो। त्रेता युगमा राजा जनकले योग्य वर छनोटका लागि पर्शुरामद्वारा प्रदत्त शिवधनुष भाँच्ने प्रतियोगिता आयोजना गरेको कथानुसार आज पनि धनुष यज्ञ प्रतीकात्मक रूपमा गरिन्छ। यस वर्ष पनि रामको स्वरूपमा सजिएका बालकले धनुष भाँचेर यज्ञ सम्पन्न गरेका थिए, जसका अवलोकनका लागि ठूलो भीड भेला भएको थियो।

भोलि पाँचौँ दिन सोमबार राम-जानकीको मटकोर, मुख्यदिन मंगलबार भगवान राम र जानकीको विवाह तथा बुधबार ‘रामकलेवा’ कार्यक्रमसहित विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ। मंसिर ४ गतेदेखि सुरु भएको महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको थियो।

त्रेता युगमा जस्तै आज पनि प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको दैवी विवाह-लीलालाई स्मरण गर्दै विवाहपञ्चमी महोत्सव मनाइने परम्परा छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको