जनकपुर: जेन-जी आन्दोलनपछि मधेश प्रदेशमा राजनीतिक संकट गहिरिँदै, एमाले एक्लिँदै


जनकपुर। संघीयता स्थापनाका लागि लामो संघर्षको इतिहास बोकेको मधेश प्रदेश अहिले जेन-जी आन्दोलनपछि उत्पन्न भएको राजनीतिक तरंगमा तीव्र अस्थिरताबाट गुज्रिरहेको छ। यसबीच प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियत राखेको नेकपा एमाले एकपछि अर्को संवैधानिक पद गुमाउँदै थप एक्लिँदै गएको छ।

मुख्यमन्त्री बन्ने शक्ति-प्रतिको मोहका कारण एमालेले प्रदेश प्रमुख र सभामुखजस्ता दुई महत्वपूर्ण जिम्मेवारी खोसिनुका साथै दलभित्र नै असन्तुष्टि चुलिएको छ। राजधानी जनकपुर बाहिरको एक होटेलमा सपथ खुवाइएको विवादपछि उत्पन्न आलोचनाले परिस्थिति झनै जटिल बनेको छ।

लगातार बदलिएको सत्ता-समिकरण

जेन-जी आन्दोलनपछि भएको राजनीतिक उथलपुथलले मधेश प्रदेशको सत्ता संयन्त्रलाई निरन्तर प्रभावित बनाएको छ।

  •  तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा,
  •  त्यसपछि लोसपाका जितेन्द्र प्रसाद सोनलको नियुक्ति,
  •  सपथ ग्रहण गरेको २५औं दिनमै सोनलको राजीनामा,
  •  दुई दिनमै एमालेका सरोजकुमार यादवले महोत्तरीको एक होटलमा सपथ ग्रहण

यी घटनाक्रमले प्रदेश राजनीतिमा अनिश्चितता हावी भएको देखिन्छ।

२५ सदस्यीय सबैभन्दा ठूलो दल रहेको एमाले सत्ता संरचनामा मजबुत पकड बनाइरहेको अवस्थामा संघीय सरकारबाट सत्ताच्युत भएको पार्टीले प्रदेशमा पनि वर्चस्व गुमाउँदै गएको छ।

प्रदेश प्रमुख र सभामुख गुमायो एमालेले

बर्दिबासस्थित होटेलमा सरोजकुमार यादवलाई मध्यराततिर मुख्यमन्त्रीको सपथ दिलाइएको घटनापछि आलोचना चुलिँदा एमाले कोटाबाट नियुक्त प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीलाई संघीय सरकारले पदमुक्त गर्यो। सोही विवादको केही समयपछि पदीय आचरणविपरीत काम गरेको आरोपमा एमालेका सभामुख रामचन्द्र मण्डल दुई-तिहाइ मतले महाअभियोग लगाएपछि पदच्युत हुनुपर्यो।

एमालेको विवादास्पद गतिविधि र नेतृत्वको शैलीले असन्तुष्ट बनेको सत्ता सहयात्री नेपाली कांग्रेस पनि अब एमालेविरुद्धको मोर्चामा उभिएको छ।

मधेशमा पुनः उर्लियो आक्रोस 

जेन-जी आन्दोलनबारे एमालेले दिँदै आएको लगातार नकारात्मक टिप्पणी र मधेश आन्दोलनका बेला झल्कने कठोर अभिव्यक्तिले मधेशमा पुनः विरोधको लहर बढाएको देखिन्छ। बाराको सिमरा क्षेत्रमा देखिएको घटनाले एमालेप्रति उर्लिएको जनअसन्तुष्टि स्पष्ट झल्किएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।

केन्द्रिकृत सोच, नेताहरूका विवादित अभिव्यक्ति र राजनीतिक मर्यादा विपरीतका कदमले एमालेले न केवल संवैधानिक पद गुमायो, कांग्रेसको साथ पनि छुट्यो। यद्यपि एमाले नेताहरू यसलाई सहज रूपमा स्वीकार्न तयार छैनन्। नव–नियुक्त मुख्यमन्त्री यादवले जनतासँग आफ्नो सम्बन्ध झनै मजबुत भएको दाबी गरेका छन्।

दलभित्रै असन्तुष्टि सतहमा

पछिल्लो घटनाक्रमले एमालेभित्रको असन्तुष्टि सतहमा आउन थालेको छ। प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ र पोलिटव्युरो सदस्य सुमन प्याकुरेल मुख्यमन्त्री यादवको साथमा देखिन्छन्। तर अर्कातिर पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ निकट समूह र प्रमुख सचेतक हरिनारायण महतोलगायतका नेताहरूले यादवको सपथलाई ‘अस्वाभाविक’ भएको टिप्पणी गर्दै नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका छन्।

मधेश प्रदेशको राजनीति अहिले पनि अनिश्चिततामै घुमिरहेको छ, जसको केन्द्रमा एमालेको आन्तरिक-बाह्य चुनौती नै प्रमुख कारणका रूपमा देखिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको