जनकपुरधाम। जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन आज ऐतिहासिक फूलबारी लीला धूमधामका साथ सम्पन्न भएको छ। महोत्सवको प्रमुख आकर्षण मानिने यस पौराणिक झाँकी अवलोकन गर्न बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो।
पौराणिक कथाअनुसार राम-लक्ष्मणले पहिलो पटक जानकीलाई देखेको पुष्प बाटिकाको स्मरणमा भगवान् राम र लक्ष्मणका रूपमा सजाइएका बालकहरूले फूलबारी परिक्रमा गरे। साँझ विवाह मण्डप नजिकै गरिएको विशेष कार्यक्रममा सहभागी भक्तजनहरू उत्साहपूर्ण वातावरणमा रमाएका थिए।
जानकी मन्दिरका सह-महन्त रामरोशन दासका अनुसार यिनै पुष्प बाटिकामा राम र सीताको पहिलो भेट भएको विश्वास रहिआएको छ। यही कथालाई जीवित राख्न प्रत्येक वर्ष आयोजित फूलबारी लीलाको धार्मिक तथा सांस्कृतिक महत्त्व अत्यन्तै उच्च मानिन्छ।
पहिलो दिन नगर परिक्रमा
बिहीबार महोत्सवको पहिलो दिन जानकी मन्दिर परिसरबाट राम-लक्ष्मणका बालरूपलाई नगर परिक्रमा गराइएको थियो। शहरका मुख्य मार्ग हुँदै निकालिएको शोभायात्रामा भक्तजनहरूले दर्शन तथा पूजा अर्चना गरेका थिए।
आगामी कार्यक्रम
महोत्सव अन्तर्गत
- शुक्रबार : तिलकोत्सव
- शनिबार : धनुष यज्ञ
- मंसिर ८ गते : राम–जानकी मटकोर
- मंसिर ९ गते : मुख्य विवाह पञ्चमी समारोह
- मंसिर १० गते : रामकलेवा
सम्पन्न गरिने जनाइएको छ।
विवाह पञ्चमी अवलोकन तथा पूजा-आराधनाका लागि देश-विदेशबाट आउने श्रद्धालुको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ।









