जनकपुरधाम। मधेस प्रदेशमा असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्ति भएको भन्दै सात दलीय गठबन्धनले धनुषामा विरोध कार्यक्रमको घोषणा गरेको छ । गत २०७८ मंसिर २२ गते प्रदेश प्रमुखबाट असंवैधानिक ढङ्गले नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको पदावधि खारेज गरी संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न गठबन्धनले शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेको हो ।
प्रेस विज्ञप्तिमार्फत गठबन्धनले आन्दोलनका क्रममा प्रहरीद्वारा गरिएका गिरफ्तारी, कुटपिट, धम्की र धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सम्मानका लागि गरिएको हाम्रो आन्दोलनलाई रोक्ने प्रयासले प्रदेशमा अस्थिरता ल्याउने काम गरेको छ।”
गठबन्धनले प्रदेश प्रमुख र सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन जारी राख्ने र असंवैधानिक नियुक्तिको विरोधमा मंसिर २६ गते बिहान ५:३० बजे धनुषामा “विरोध र शान्तिपूर्ण आन्दोलन” सञ्चालन गर्ने जनाएको छ ।
सात दलीय गठबन्धनमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्न्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी धनुषा रहेका छन् ।
विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा नेपाली काँग्रेसका कुमारकान्त झा, जसपाका पशुपति यादव, जनमत पार्टीका सुरेशकुमार मण्डल, नेकपा माओवादी केन्द्रका सुनिलकुमार यादव, लोसपाका जिवेन्द्र झा, नेकपा एकीकृत समाजवादीका राजकुमार यादव र नागरिक उन्मुक्ति पार्टीका दिनेश यादव रहेका छन् ।









