मुख्यमन्त्री नियुक्तिविरुद्ध जनकपुरधाममा सात दलको प्रदर्शन, लाठीचार्जमा दर्जनौँ घाइते


जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेसँगै प्रदेश राजधानी जनकपुरधाममा राजनीतिक तनाव चुलिएको छ। मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलका नेता तथा कार्यकर्ताले प्रदेश भवन अगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भई दर्जनौँ घाइते भएका छन्।

विरोध प्रदर्शनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेपाली कांग्रेस, जसपा लगायत दलहरूका नेताकार्यकर्ता सहभागी थिए। उनीहरूले मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत र जनमतको अपमान भन्दै नाराबाजी गरेका थिए। स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको थियो।

लाठीचार्जमा परी लोसपा मधेश प्रदेशका मुख्य सचिव रामविनोद चौधरी गम्भीर घाइते भएका छन्। त्यस्तै, लोसपाका केन्द्रीय सचिव ज्ञानेन्द्र झा, बलवा नगर समितिका अध्यक्ष रमेश्वर मण्डल, विद्यार्थी नेता अजय पण्डितसहित अन्य कार्यकर्ताहरू पनि घाइते भएका छन्। जनमत पार्टीका महोत्तरी जिल्ला इञ्चार्ज विरेन्द्र मण्डल र विद्यार्थी जनमत संघ धनुषाका जिल्ला अध्यक्ष विरेन्द्र यादव पनि घाइते भएको जनाइएको छ।

घाइतेहरूको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

लोसपा र जनमत पार्टी दुवैले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको अत्यधिक बल प्रयोगको निन्दा गरेका छन्। उनीहरूले दमनबाट प्रदेशमा अस्थिरता बढ्ने चेतावनी पनि दिएका छन्।

विरोधका क्रममा केही समयका लागि प्रदेश भवन क्षेत्र अवरुद्ध बनेको थियो। पछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि अवस्था नियन्त्रणमा आएको बताइएको छ।

सात दलले संयुक्त रूपमा वक्तव्य जारी गर्दै भनेका छन्, “मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा कानुनी र नैतिक दुवै त्रुटि छ। यो मधेश जनताको म्यान्डेटमाथिको स्पष्ट अपमान हो।”

यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिइसकेको छ। अदालतले मंसिर १० गतेभित्र सरकार र विपक्षी दुवै पक्षबाट लिखित जवाफ मागेको छ।

स्रोत: टुडे आवाज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको