जनकपुर। मधेस प्रदेशको राजनीतिले सोमबार नाटकीय मोड लिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ गराएकी छिन्।
जनकपुरमा राजनीतिक तनाव र विरोध प्रदर्शन भइरहेका कारण शपथग्रहण कार्यक्रम सिन्धुलीस्थित एक होटलमा राखिएको थियो। संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतमा यादव मुख्यमन्त्री बनेका हुन्।
शपथ पछि ‘रातोपाटी’सँग कुरा गर्दै यादवले भने, “मैले भर्खरै मुख्यमन्त्री पदको शपथ लिएँ। जनकपुरमा अवस्था सहज थिएन, विरोध भइरहेको थियो। त्यसैले शपथ सिन्धुलीमा गरिएको हो।”
यसअघि विश्वासको मत नपाएपछि लोसपा नेता जितेन्द्र सोनलले केही दिनअघि मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
यद्यपि, सोनलले यो घटनालाई राजनीतिक बेइमानीको संज्ञा दिएका छन्। उनले आरोप लगाउँदै भनेका छन् कि प्रदेश प्रमुख भण्डारी ‘स्वास्थ्य उपचार’को नाममा जनकपुरबाट काठमाडौँ जान निस्केकी थिइन् तर बिचैमा सिन्धुली-महोत्तरी सिमानामा होटलमा नै शपथ खुवाइन्।
सोनलले सामाजिक सञ्जालमा लेखेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले सिमानाको एक होटलमा मधेसको अस्मिता समाप्त पार्ने खेल गरिन्। एक त महिला, अर्को स्वास्थ्यको कुरा गरिन्।”
यस घटनापछि मधेस प्रदेशमा फेरि सरकार गठन र शक्ति सन्तुलनको नयाँ राजनीतिक बहस सुरु भएको छ।












