काठमाडौं। नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जनकपुर बोल्ट्सले पूजालाई पुनः ‘फेस अफ द बोल्ट्स’को रूपमा घोषणा गरेको हो। कार्यक्रममा बोल्दै पूजाले टिमप्रतिको विश्वासको लागि आभार व्यक्त गर्दै निरन्तरता पाएकोमा खुशी व्यक्त गरिन्।
‘जनकपुर बोल्ट्स परिवारप्रति धन्यवाद। फेरि पनि फेस अफ बोल्ट्स बन्न पाउँदा खुसी लागेको छ,’ पूजाले भनिन्, ‘पहिलो संस्करणमा टिम च्याम्पियन थियो, यसपालि पनि त्यही सफलता दोहोरिने विश्वास छ।’
सोही कार्यक्रममा टिमको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो। जर्सी रिभिल कार्यक्रममा जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा, पूजा महतो र नेपाल लुब ओयल लिमिटेडका प्रबन्ध निर्देशक करण चौधरी उपस्थित थिए।
जनकपुर बोल्ट्सले यसअघि विदेशी खेलाडीका रूपमा लाहिरु मिलान्थालाई पुनः अनुबन्ध गरेको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिरलाई पनि टोलीमा सामेल गरिसकेको छ। टिमको प्रमुख प्रशिक्षकमा वेस्ट इन्डिजका लेजेन्डरी क्रिकेटर शिवनराइन चन्द्रपाल रहेका छन्।









