जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियालाई लिएर दलहरुबीच तातो रस्साकस्सी सुरु भएको छ। प्रदेश प्रमुखले नेकपा एमाले नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउन सक्ने आशंकापछि कांग्रेस सहितका दलहरू प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा धावा बोल्दै खबरदारीमा उत्रिएका छन्।
शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल सुरु भएको हो। यस क्रममा एमालेको सिफारिसमा नियुक्त प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमालेलाई सरकार गठनको आह्वान गर्ने कि भन्ने विषयमा अन्य दल सतर्क भएका छन्।
यद्यपि कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका सांसद तथा नेताहरूले संयुक्त रूपमा संविधानको धारा १६८(२) बमोजिम नै सरकार गठन हुनुपर्ने माग गरेका छन्। उनीहरूले धारा १६८(३) लागू भए एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना भएकाले त्यो प्रक्रिया असंवैधानिक नबनियोस् भन्ने चेतावनी दिएका छन्।
यसैबीच, मधेश प्रदेश सभा र सरकार विरोधी नारासहित कार्यकर्ता तथा समर्थकहरु पनि प्रदेश प्रमुख कार्यालय र भवन परिसर बाहिर ठूलो संख्यामा उपस्थित भएर खबरदारी गरिरहेका छन्।









