अक्षय कोष र शुल्कमुक्त सेवा वाचा पूरा नगरेको आरोपमा औरही गाउँपालिका उपाध्यक्ष विवादमा


१५ कात्तिक, सिरहा – भोगेन्द्र कुमार यादव। औरही गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादवमाथि स्थानीयहरूले चुनावका बेला गरेको वाचा पूरा नगरेको आरोप लगाएका छन्। चुनावी भाषणमा उनले गाउँपालिकामा अक्षय कोष स्थापना गर्ने, घटना दर्ता गर्दा शुल्क नलिने, र आकस्मिक अवस्थाको राहत सहयोग सहज बनाउने प्रतिबद्धता जनाएकी थिइन्। तर, अहिले सम्म तीमध्ये एकपनि वाचा कार्यान्वयनमा नआएको भन्दै जनतामा असन्तोष फैलिएको छ।

अक्षय कोष र शुल्कमुक्त सेवा-मात्र वाचा बने

स्थानीयहरूको भनाइमा उपाध्यक्ष यादवले गाउँको विपन्न वर्ग, विधवा महिला, अपाङ्गता भएका व्यक्ति र असहाय परिवारका लागि अक्षय कोषको व्यवस्था गर्ने बताएकी थिइन्। उक्त कोषबाट आपत्–विपत्, रोग, दुर्घटना वा अत्यावश्यक अवस्थामा राहत र सहयोग प्रदान गरिने योजना सार्वजनिक गरिएको थियो।

तर, स्थानीयहरूले अहिले सम्म त्यस्तो कोष अस्तित्वमै नरहेको बताएका छन्। गाउँपालिका कार्यालयमा सोध्दा पनि कुनै आधिकारिक निर्णय वा बजेट छुट्याइएको जानकारी नपाएको उनीहरूको गुनासो छ।

त्यस्तै, उनले घटना दर्ता गर्दा शुल्क नलिइनेछ भनेर जनतासँग गरेको वाचा पनि कार्यान्वयन नभएको स्थानीयहरूको आरोप छ। एक स्थानीय नागरिकले भने,

चुनाव अघि उनले भन्थिन्, घटना दर्ता शुल्क नलिने। तर अहिले पनि त्यहीँ पुरानै शुल्क लिइरहेको छ। यस्तो वाचा किन गर्ने?

‘सेवा सुविधा सबै लिने तर साथ नदिने’ आरोप

गाउँपालिकाभित्रका केही प्रतिनिधिहरूले पनि उपाध्यक्ष यादवमाथि गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार, गाउँपालिकाले वडाको हितका लागि बजेट पठाउँछ भने मात्रै उपाध्यक्षले सहयोग गर्ने गर्छिन्।

एक स्थानीय वडाध्यक्षले नाम नखुलाउने सर्तमा भने,

उनी जनताको पक्षमा भन्दा पनि राजनीतिक स्वार्थ हेरेर काम गर्छिन्। गाउँमा समस्या पर्‍यो भने साथ दिने होइन, बहाना खोज्ने गर्छिन्।

जनताले आपत् विपत् वा विपन्न अवस्थाको बेला सहयोगको अपेक्षा गरे पनि, उपाध्यक्ष यादवले त्यसमा चासो नदेखाएको भन्दै असन्तोष बढ्दो छ।

भाषणमा ठूलो कुरा, व्यवहारमा शून्य उपलब्धि

चुनावका बेला र त्यसपछि पनि विभिन्न कार्यक्रममा रेणु यादवले गाउँपालिकालाई आदर्श बनाउने “विकासका सबै ढोका खोल्ने र जनताको घर–घरमा सरकारी सेवा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएकी थिइन्। तर, अहिले तीन वर्ष बित्दासम्म पनि न अक्षय कोषको शुरुवात भएको छ, न जनताले कुनै ठोस परिवर्तन महसुस गरेका छन्।

स्थानीय महिला समूहकी सदस्य रामपती देवी यादवले भनिन्,

हामीले आशा गरेका थियौं कि उपाध्यक्षले महिला र विपन्न वर्गका लागि केही गर्नेछिन्। तर अहिले त उनको नामसम्म गाउँमा चर्चा हुन छोडिसक्यो। भाषणमा त ठूलो कुरा गरेकी थिइन्, तर नतिजा केही छैन।

जनताको प्रश्नः अब जवाफ कहिले दिने?

औरही गाउँपालिकाका बासिन्दाहरूले उपाध्यक्ष यादवलाई अब चुनावी वाचा र वास्तविक उपलब्धिबीचको अन्तरबारे सार्वजनिक जवाफ दिन आग्रह गरेका छन्। उनीहरू भन्छन्, स्थानीय तहमा जनप्रतिनिधिहरू जवाफदेही हुनुपर्ने हो, तर अधिकांश वाचा आश्वासनमै सीमित छन्।

एक युवा अभियन्ताले भने,

 उपाध्यक्षले चुनाव जितेपछि जनतालाई बिर्सिइन्। हामीले सोध्ने हक राख्छौं – अक्षय कोष कहाँ गयो? शुल्कमुक्त घोषणा किन कार्यान्वयन भएन? जनताको हकमा बोलेका कुरा कागजमै किन रोकिए?

औरही गाउँपालिकाका नागरिकहरूको धारणा स्पष्ट छ वाचा पूरा नगर्ने प्रतिनिधि जनतामाझ विश्वास गुमाउँछन्। उपाध्यक्ष रेणु कुमारी यादवले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण नदिएसम्म स्थानीय असन्तोष अझ बढ्ने देखिन्छ। अब प्रश्न यो हो – जनतासँग गरेको वाचा पूरा गर्न उनीले पहल गर्छिन् कि पुनः अर्को चुनावी वाचा मात्रै बाँडिन्छ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको