काठमाडौँ। निर्वाचन आयोगले पछिल्लो पटक सुरु गरेको मतदाता नामावली संकलन अभियानको ३६ दिनमै ८५ हजार १०७ नयाँ मतदाता दर्ता भएका छन्। आयोगका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ठूलो संख्यामा मतदाता थपिएका छन्।
काठमाडौँमा ११ हजार २३० जना, ललितपुरमा ४ हजार ९९३ जना र भक्तपुरमा ३ हजार ४३७ जना नयाँ मतदाता दर्ता भएका छन्। त्यस्तै मोरङमा ३ हजार २८४, चितवनमा ३ हजार ६३, रुपन्देहीमा ३ हजार ३२, झापामा २ हजार ९७८, सुनसरीमा २ हजार ६२३, सप्तरीमा २ हजार ३५५ र बारामा २ हजार ३३१ जनाले नाम दर्ता गराएका छन्।
जेनजी पुस्तालाई लक्षित गर्दै सरकारले अध्यादेशमार्फत मतदाता दर्ता खुला गरेको थियो। आयोगले यही कात्तिक ३० गतेसम्म देशभरका प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन जारी राख्ने जनाएको छ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संकलन कार्य तीव्र बनाइएको आयोगको भनाइ छ। हाल १६ वर्ष पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म (सार्वजनिक बिदा बाहेक) नाम दर्ता गराउन सक्नेछन्।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेको हो। निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली संकलन स्वतः रोकिने कानुनी व्यवस्था छ। तर योग्यता पुगेका धेरै युवाको नाम दर्ता नहुँदा अध्यादेशमार्फत दर्ता खुला गरिएको हो।
यस अन्तर्गत नयाँ मतदाता दर्तासँगै विवाह वा बसाइँसराइका कारण मतदान क्षेत्र परिवर्तन गर्नेलाई ठाउँसारी गर्ने सुविधा र नामावलीमा रहेका त्रुटि सच्याउने व्यवस्था पनि गरिएको आयोगले जनाएको छ।









