रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा उप–निर्वाचनका लागि रौतहट क्षेत्र नं ४ बाट गणेश पौडेल (गणेश सर) लाई उम्मेदवार बनाउने तयारी गरेको छ। रास्वपा रौतहटका वरिष्ठ नेता उदय नारायण सापकोटाका अनुसार पार्टीले पौडेललाई “उपयुक्त, जनप्रिय र वैकल्पिक नेतृत्व” को रूपमा मूल्यांकन गर्दै अघि सार्ने निर्णय गरिसकेको छ।
रास्वपाले पौडेलको उम्मेदवारीलाई परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक सोच का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ। पौडेलको नाम सार्वजनिक हुनासाथ स्थानीय राजनीतिक वृतमा नयाँ हलचल देखिएको छ। चोक-चौतारामा रास्वपाको सो निर्णयलाई लिएर व्यापक चर्चा सुरु भएको छ।
राजनीतिमा नयाँ अनुहारका रूपमा उदाएका पौडेल सरल, जनमैत्री र अबिवादित छविका व्यक्तित्व मानिन्छन्। विभिन्न सामाजिक तथा सहकारी संस्थामा सक्रिय उनी संकल्प सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत हुन्, जुन रौतहट जिल्लाकै सबैभन्दा बढी शेयर सदस्य रहेको सहकारी संस्थामध्ये एक हो।
सामाजिक क्षेत्र, आर्थिक सशक्तिकरण र समुदाय नेतृत्वमा सक्रिय पौडेल जनताको सुख–दुःखमा सदैव साथ दिने व्यक्तित्वको रूपमा परिचित छन्। स्थानीय बासिन्दा शम्भु प्रसाद भट्टराई भन्छन्, “गणेश सर जनताको विश्वास जित्न सक्ने नेतृत्व हुन्। उनी जनप्रतिनिधि बनेपछि क्षेत्रको विकासमा नयाँ गति आउने छ।”
रास्वपा नेताहरूका अनुसार पौडेलको उम्मेदवारीले रौतहट-४ मा पार्टीको आधार थप सुदृढ हुने र निर्वाचन परिणाम पनि सकारात्मक आउने अपेक्षा गरिएको छ। अब पार्टीले पौडेलको नेतृत्वमा घरदैलो अभियान, नीति संवाद र युवामुखी जनजागरण कार्यक्रमलाई तिव्रता दिने तयारी गरिरहेको छ।
यससँगै रौतहट-४ को निर्वाचन प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। विश्लेषकहरूका अनुसार रास्वपाको यो कदमले परम्परागत पार्टीहरूको समीकरणमा पनि प्रभाव पार्ने सम्भावना देखिन्छ।
यद्यपि पार्टीले उम्मेदवारको आधिकारिक घोषणा भने टुंगो नलागेको र छिट्टै सार्वजनिक गर्ने बताइएको छ।









