सूर्यदेवको आराधनासहित चार दिन मनाइने छठ पर्व आजदेखि सुरु


८ शनिबार, गौशाला, महोत्तरी। सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ। पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ। यस दिन ब्रतालुहरूले नदी, पोखरी वा जलाशयमा स्नान गरी शुद्ध भइ अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ।

पारिवारिक सुख-समृद्धि, स्वास्थ्य र सन्तानको कल्याणको कामनाका साथ मनाइने यो पर्वको दोस्रो दिन भोलि (आइतबार) ‘खरना’ पारेर मनाइने छ। खरनाका अवसरमा साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट बनेको खीर प्रसादस्वरूप ग्रहण गर्ने चलन छ।

तेस्रो दिन सोमबार छठ पर्वको मुख्य दिन ‘सँझियार’ वा ‘सन्ध्याकालीन अर्घ्य’का रूपमा मनाइन्छ। यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य अर्पण गरिन्छ। चौथो दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन गरिन्छ। यस अन्तिम दिनलाई ‘पारन’ भनिन्छ।

छठमा बाँसको डगरी र ढाकी, माटोका कोसिया-कुरबार, हात्ती लगायतका सामग्री अर्पण गर्ने प्रचलन छ। साथै ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, विविध तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा चढाइन्छ।

अर्घ्य दिने ब्रतालुले करिब ४८ घण्टासम्म निर्जला व्रत बस्ने परम्परा भएकाले छठलाई निष्ठा, कठोर साधना र आत्मानुशासनको पर्वका रूपमा मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई चढाइएको सामग्री प्रसादस्वरूप ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक एकता र सद्भावको प्रतीकका रूपमा पनि लिइन्छ।

यसै क्रममा तराई-मधेशका बजारहरूमा पूजा सामग्री किनमेलको चहलपहल बढेको छ। नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजिने क्रम जारी छ। जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ ताल लगायतका ऐतिहासिक जलाशयहरू विशेषरूपमा सिँगारिँदै छन्। मिथिलाञ्चल र सम्पूर्ण तराई-मधेश क्षेत्र छठ गीतका मधुर स्वरले गुन्जायमान बनेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको