दाङ। वरिष्ठ राजनीतिज्ञ तथा पूर्वमन्त्री बलदेव शर्मा मजगैयाँले वर्तमान राजनीतिक अवस्था २०३३ सालको अवस्थाभन्दा पनि बढी जोखिमपूर्ण बनेको टिप्पणी गरेका छन्।
डॉ. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ पुस्तकको घोराहीमा विमोचन गर्दै साहित्यकार समेत रहेका मजगैयाँले मुलुकको अस्तित्व नै संकटमा परेको बेला २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गरे। उनले भने, “अहिलेको अवस्था त्यो समयभन्दा झन् जटिल र जोखिमपूर्ण छ, तर नेतृत्वमा देश सम्हाल्ने चेतना देखिँदैन।”
सन् १९७५ मा जनमत सङ्ग्रहपछि सिक्किम भारतमा विलय गरिएको घोषणा आएपछि भारतमा निर्वासनमा बसेर सङ्गठन गर्नुभएको बिपी कोइराला राष्ट्रिय एकताका लागि स्वदेश फर्किएका थिए। त्यो समयमा मजगैयाँ पनि भारतमै बिपीसँगै थिए।
हालैको जेन-जि आन्दोलनबारे बोल्दै उनले २०४२ सालको सत्याग्रहको सम्झना आएको बताए। उनका अनुसार, ठूलो आन्दोलनमा घुसपैठ हुने सम्भावना सधैं रहन्छ। “नेपाली काँग्रेसले त्यतिखेर निर्णय गर्यो- जहाँबाट हिंसा भयो त्यही क्षण सत्याग्रह स्थगित हुनेछ। तर भूमिगत राम राजा प्रसाद सिंहबाट बमकाण्ड गराइयो र हामीलाई दोषारोपण गर्न खोजियो,” उनले स्मरण गरे। तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले काँग्रेस सो घटनामा संलग्न नरहेको स्पष्ट गरेपछि आफूहरू बच्न सफल भएको उनले बताए।
मजगैयाँले भदौ २३ र २४ गतेका घटनामा कसैले पनि नैतिक जिम्मेवारी नलिएको भन्दै चिन्ता व्यक्त गरे। “पहिले ‘न्याय हराए गोर्खा जानु’ भन्ने उखान थियो, अहिले ‘नैतिकता हराए कहाँ जाने?’ भन्ने प्रश्न खडा भएको छ,” उनले टिप्पणी गरे।
उनले २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले, २०४४ सालमा दशरथ रङ्गशालाको दु:खद दुर्घटनापछि शिक्षा मन्त्री केशरबहादुर विष्टले राजीनामा दिएको उदाहरण पनि प्रस्तुत गरे। तर अहिले ठूलोभन्दा ठूला घटना हुँदा पनि कोही जिम्मेवारी लिन तयार नरहेको उनको भनाइ थियो।
मजगैयाँले हालका अधिकांश राजनीतिक दलहरू आन्तरिक द्वन्द्वमा फसेको र पार्टी फुटको जोखिम बढिरहेको समेत उल्लेख गर्दै चेतावनी दिए, “नेतृत्वले आत्मसमीक्षा गरेर राष्ट्रिय एकताको पहल नगरे भोलि फेरि ठूलो विद्रोह वा द्वन्द्व हुनसक्छ, जसपछि देश जोगाउन गाह्रो पर्छ।”
समारोहमा तुलसीपुर नगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे, सर्वोदय पुस्तकालय दाङका अध्यक्ष सुशील गौतम, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार दुर्गालाल केसीलगायतले पुस्तकबारे टिप्पणी दिएका थिए।
गोरक्ष दैनिककी प्रकाशक सुलोचना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिपी कोइरालाको अदालतमा दिएको बयानमा आधारित वृत्तचित्र ‘बीपी बिगुल’ पनि सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो।









