काठमाडौं। नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको उपाधि जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै च्याम्पियन बनेको हो।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउँदै सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै सीमित भयो। सामोआका सिन सोलियाले सर्वाधिक ४० रन बनाए। नेपालका ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो। आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन जोडे।
लोकेश बमले ११ बलमा ३९ रनको विस्फोटक प्रदर्शन गर्दै फिनिसिङ गरेका थिए। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन जोडे। सामोआका डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले समान १-१ विकेट लिए।
यो उपाधिसँगै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगिता जितेको हो। सन् २०१४ मा नेपालले आईसीसी डिभिजन-४ को उपाधि जितेको थियो। त्यसयता नेपालले कुनै पनि आईसीसी प्रतियोगिता जित्न सकेको थिएन। सन् २०२३ मा विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।
समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्समा नेपालले यूएईलाई १ रनले, कतारलाई ५ रनले र अन्तिम खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित रहँदै उपाधि हात पारेको हो ।
यससँगै नेपालसहित यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकपका लागि योग्यता प्राप्त गरेका छन् ।












