२९ असोज, रौतहट- चन्दन रजक। विभिन्न राजनीतिक दलका नेता तथा सयौँ कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। जनमत पार्टी रौतहटद्वारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गोल्डेन होटल, चन्द्रनिगाहपुरमा भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउत र विशेष अतिथिका रूपमा पूर्व पर्यटन मन्त्री तथा जनमत पार्टीका वरिष्ठ नेता माननीय सकिल अली उपस्थित रहेका थिए।
कार्यक्रमका क्रममा आम जनता पार्टी, जसपा नेपाल, एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी विभिन्न नेताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन्।
प्रवेश गर्ने प्रमुख नेताहरूमा आम जनता पार्टीका प्रदेश सदस्य रमेश पटेल, जसपा नेपालकी उपमेयर प्रत्यासी सरिता देवी, एमाले नगर सचिव रामकिशोर यादव, माओवादी केन्द्रका केन्द्रीय सदस्य सरजित महरा, नेपाली कांग्रेसका नेता फरित चौधरी र अमिर खान चौधरी रहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा सहभागी सबै नयाँ सदस्यहरूलाई फूलमाला र अबिर लगाई स्वागत गरिएको थियो। सो अवसरमा अतिथिहरूले जनमत पार्टीको नीति, दृष्टिकोण र जनसेवाप्रतिको प्रतिबद्धता बारे प्रकाश पार्दै नयाँ प्रवेशकर्तालाई जनसेवामा समर्पित भएर पार्टी सुदृढीकरणमा जुट्न आह्वान गरे।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको जनमत पार्टी केन्द्रीय कार्यालय सदस्य ललित मलिक सानुले जानकारी दिनुभएको छ।












