काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।
‘एसोसियट नेसन’को एल क्लासिकोका रूपमा हेरिने यो रोमाञ्चक खेलमा नेपालले कडा चुनौती दिँदै विजय हात पारेको हो।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको योगफल तयार पारेको थियो। १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।
यूएईले दोस्रो विकेटका लागि अलिशान सराफू र जोनाथन फिगीबीच ८१ रनको साझेदारी गरेपछि खेलमा फर्कने संकेत दिएको थियो। तर, सराफू आउट भएपछि यूएईको ब्याटिङ लय कमजोर बन्यो। अन्तिम ओभरमा ३ बलमा ३ रन आवश्यक रहेको अवस्थामा ध्रुव परासर १९.४ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराद्वारा क्याच भए। त्यसपछि १९.५ ओभरमा हैदर अलि रनआउट हुँदै यूएईको जितको आशा टुट्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले १-१ विकेट हात पारे।
यसअघि ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन जोडे भने कप्तान रोहित पौडेलले २० रन योगदान दिए। गुल्सन झाले ५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै आक्रामक १५ रन बनाए।
यूएईका लागि मोहम्मद रोहिद, हैदर अलि, जाहिद अलि, हर्सिक कौशिक र ध्रुव परासरले समान १–१ विकेट लिए।
यो जितसँगै नेपालको विश्वकपमा पुग्ने सम्भावना थप बलियो बनेको छ।
नेपालले समूह ‘बी’ अन्तर्गत जापान र कुवेतलाई हराउँदै अविजित रूपमा सुपर सिक्समा स्थान बनाएको हो। त्यस्तै, समूह ‘ए’ बाट यूएईले कतार र मलेसियालाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो।
अब नेपालले सोमबार कतारसँग, बुधबार सामोआसँग र शुक्रबार ओमानसँग खेल्नेछ।










