२४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी (GenZ) प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार आगामी सोमबारसम्म शपथ ग्रहण गराउने गरी चार नयाँ मन्त्री नियुक्त हुने तयारी भइरहेको छ।
शुक्रबार साँझ प्राप्त जानकारीअनुसार मन्त्रीहरूको नाम टुंगो लागेको छ। जेन-जीको तर्फबाट मन्त्री बन्ने चार जनामा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन्।
तयारी अनुसार,
- गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
- बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय,
- रामजी रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र
- टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार टासीको नामबारे अन्तिम छलफल भइरहेको छ।
गणपतिलाल श्रेष्ठ देशका ऐतिहासिक सम्पदाहरू संरक्षणका अभियन्ता हुन्। भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी, पशुपति क्षेत्र, बालगोपालेश्वर मन्दिर र खुलामञ्चको संरक्षणका लागि उनी सक्रिय रहँदै आएका छन्।
बब्लु गुप्ताले कोभिड-१९ महामारीको समयमा ‘नि:शुल्क खाना अभियान’ सञ्चालन गरेका थिए। उनले ‘कपडा बैंक’ स्थापना गरेर विपन्नलाई सहयोग पुर्याएका छन्। हाल ‘हन्ड्रेड ग्रुप’मार्फत करिब ११० विद्यार्थीलाई निःशुल्क शिक्षण गराउँदै आएका उनी जेन-जी आन्दोलनका अगुवामध्ये एक हुन्।
रामजी राम रौतहट जिल्लाको चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति हुन्। आर्थिक कठिनाइका बाबजुद पढाइ पूरा गरेका उनी स्वास्थ्य सेवामा सुधारका पक्षधरका रूपमा परिचित छन्।
टासी ल्हाजोम हुम्लाको लिमि भ्यालीस्थित नाम्खा गाउँपालिकाकी हुन्। जलवायु परिवर्तनको मुद्दामा सक्रिय रहेकी उनले भारतको दिल्ली विश्वविद्यालयअन्तर्गत हिन्दु कलेजबाट स्नातक तह अध्ययन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनमा सक्रिय अन्य युवालाई पनि प्रधानमन्त्री सचिवालयमा समेट्ने तयारी गरेकी छिन्।
गत २३ र २४ भदौमा भएको आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले २७ भदौमा सम्हालेकी थिइन्। त्यसयता उनले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्। हालसम्म उनको मन्त्रिपरिषद् ८ सदस्यीय छ, जुन अब विस्तारपछि १२ सदस्यीय हुने अपेक्षा गरिएको छ।
स्रोत: onlinekhabar



















