जनकपुर। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा यतिखेर बडादशैंको विशेष रौनक छाएको छ । विभन्न संघ – संस्था र युवाबीचको आपसी सहयोग र सद्भावसँगै यहाँ दुर्गा पूजाको ख्याती दिनप्रतिदिन बढ्दै गएको छ।
राजदेवीलगायत विभिन्न मन्दिरमा पूजा तथा दर्शनका लागि नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। मिथिलामा बडादशैंको रमझम अहिले निकै उत्कर्षमा पुगेको छ। जनकपुरधामभित्रका शक्तिपीठहरूलाई बेहुलीझैँ सजाइएको छ। युवाक्लबहरूले लाखौं खर्चेर आकर्षक पण्डाल निर्माण गर्नुका साथै सरसफाइ र बत्तीको विशेष व्यवस्था गरेका छन्।
ऐतिहासिक राममन्दिरसँगै रहेको राजदेवी मन्दिर, अमरखाना, बौद्धीमाई, पिडरियामाई, विद्यापति चोक दुर्गा मन्दिर, रामानन्द चोकलगायतका स्थानमा उल्लासमय वातावरणबीच पूजा–दर्शन गर्ने भक्तहरूको भीड दिनप्रतिदिन बढिरहेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित राजदेवी मन्दिरमा मात्र प्रत्येक वर्ष महाष्टमीको रात १३ हजारभन्दा बढी बोका बलि दिने परम्परा रहेको छ। अत्यधिक भीड व्यवस्थापन र सुरक्षाका लागि यस वर्ष करिब ८ सय नेपाल प्रहरी र ४ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ।
गाउँदेखि शहरसम्मका स्थानीयवासी दशैंलाई रोचक बनाउन उत्साहका साथ लागिपरेका छन्। नाटक, सांस्कृतिक कार्यक्रम, प्रहसन, लोकनृत्य तथा लोकनाचमार्फत पर्वलाई अझ आकर्षक बनाइएको छ। आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकस्वरूप मिथिला – मधेशका विभिन्न स्थानमा दुर्गा, काली, सरस्वती, लक्ष्मी, गणेश, रेमन्तलगायत देवी – देवताका प्रतिमा स्थापना गरी विशेष पूजा–पाठ गर्ने परम्परा निरन्तर चलिआएको छ।














