महोत्तरी – जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास, महोत्तरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशीलाई “BEST TRAFFIC POLICE OF THE MONTH” अवार्डद्वारा सम्मान गरिएको छ।
जोशीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनअनुसार इमानदार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित र लगनशील भई आफ्नो कर्तव्य निर्वाह गर्दै आएका छन्। विशेषगरी हालैको Gen-Z आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना, सवारीसाधन र प्रहरी कर्मचारीलाई सुरक्षित राख्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। साथै, आन्दोलन अवधिभर मातहत प्रहरी कर्मचारीलाई प्रभावकारी ढंगले परिचालन गरी सम्भावित क्षति रोक्न उल्लेखनीय योगदान गर्नुभएको हो।
उहाँको यो योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराले उहाँलाई भदौ महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषणा गर्दै नगद रु. १,३०० (अक्षरेपी तेह्र सय रुपैयाँ मात्र) सहित सम्मान गरेको हो।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५, नियम १९७, उपनियम (ख) अनुसार गरिएको यो सम्मानले अन्य प्रहरी कर्मचारीलाई समेत थप उत्साहित र प्रेरित गर्ने अपेक्षा लिइएको छ।











