मधेशमा चार दलको सहमति, कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने तयारी


बर्दिवास । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश सिंह नेतृत्वको सरकार अल्पमतमा पुगेपछि नयाँ सरकार गठनका लागि प्रमुख चार दलबीच निर्णायक सहमति जुटेको छ।

सिंह सरकार ढलेको करिब दुई सातापछि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले जानकारी दिएका छन्।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहभागितामा सरकार गठन गर्ने टुङ्गो लागिसकेको छ। कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बन्ने सहमति भएको पनि उनले बताए।

मुख्यमन्त्री सिंहले सत्तारूढ दलहरूले समर्थन फिर्ता लिएपछि पनि राजीनामा नदिएपछि चार दलको बैठकले नयाँ सरकार गठनको पहल थालेको हो। यादवका अनुसार चारवटै दलबीच सहमति भइसकेको छ र प्रदेश प्रमुख जनकपुर फर्किएलगत्तै बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार गठनका लागि पत्र बुझाउने तयारी छ।

मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको बहुमत आवश्यक पर्छ। नयाँ समीकरणमा रहेका दलसँग सहज बहुमत रहेको छ। कांग्रेसका २२, नेकपा एमालेका २४ (सभामुखसहित, एक जना निलम्बनबाहेक), जनमत पार्टीका १३ र लोसपाका ८ (एक जना निलम्बनबाहेक) गरी नयाँ गठबन्धनसँग ६७ सांसदको स्पष्ट बहुमत पुगेको छ।

यद्यपि मुख्यमन्त्री पद कांग्रेसलाई दिने सहमति भए पनि मन्त्रालय बाँडफाँटबारे भने अन्तिम सहमति नजुटेको यादवले बताएका छन्।

यसैबीच, मुख्यमन्त्रीका लागि चर्चामा रहेका कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले भने सरकार गठनबारे अहिले कुनै ठोस निर्णय भइसकेको छैन भन्दै छलफल जारी रहेको प्रतिक्रिया दिएका छन्।

जनमत पार्टीले भदौ २८ गते समर्थन फिर्ता लिएपछि कांग्रेसले पनि गत बुधबार समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सिंहको सरकार अल्पमतमा परेको थियो।

अब केही दिनमै प्रदेश प्रमुखलाई बहुमतको पत्र बुझाउने तयारीसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाले तीव्रता पाउने देखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको