महोत्तरीको गौशालामा सुरु भयो जितवाहन मेला, श्रद्धा र संस्कृतिको संगम


२९ भदौ, गौशाला, महोत्तरी – मिथलेश महतो।

तराईको आस्थामा गहिरो जरा गाडेको जितिया पर्वको अवसरमा महोत्तरीको गौशाला नगरपालिका – १० स्थित समुदायिक फिल्डमा आजदेखि दुई दिने जितवाहन मेला महोत्सव सुरु भएको छ। वडा कार्यालय अगाडिको मैदान अहिले धार्मिक आस्था, सांस्कृतिक रौनक र सामुदायिक उत्साहले भरिएको छ।

पौराणिक विश्वासअनुसार, राजा शालिवहानले एउटी आमाका सात छोरालाई दैत्यको चंगुलबाट मुक्त गरिदिएका थिए। सन्तानलाई जीवनदान दिएको त्यो अद्भुत क्षणलाई सम्झेर महिलाहरूले यो पर्वलाई ‘जितवाहन’ नाम दिएका हुन्। आज पनि आमाहरू सन्तानको दीर्घायु, सुख र शान्तिको कामना गर्दै ३६ घण्टासम्म निराहार व्रत बसेर यो पर्व मनाउँछन्। यही श्रद्धा र मातृत्वको भावना यस पर्वको आत्मा बनेको छ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, लोकनृत्य, स्थानीय खेलकुद र विविध मनोरञ्जनात्मक प्रस्तुति छन्। धार्मिक सामग्रीदेखि मिठाई, घरेलु उत्पादन र परिकारका स्टलहरूले मेलास्थललाई अझै रंगीन बनाएका छन्। गाउँका परिवारहरू, बालबालिका, युवा र बुढापाका सबै मेला अवलोकनमा जुटेका छन्।

स्थानीयको भनाइ छ, “जितवाहन मेला केवल पर्वको रौनक होइन, हाम्रो पहिचान, विश्वास र एकताको प्रतीक हो।” आयोजक समितिले पनि यसले धार्मिक आस्था मात्र होइन, सामाजिक एकता र सांस्कृतिक धरोहरलाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको