२६ भदौ, काठमाडौं – चन्दन रजक।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले वर्तमान अवस्थामा देशभित्र देखा परेका असामान्य परिस्थितिप्रति सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर जनसमुदायलाई सचेत र गम्भीर बन्न आह्वान गर्नुभएको छ।
डा. राउतले हाल भइरहेको जेन–जी आन्दोलनलाई जनताको आस्थासँग जोडिएको महत्वपूर्ण विषयका रूपमा लिँदै त्यसलाई दुरुपयोग गर्ने कुनै पनि षड्यन्त्रकारी प्रयासलाई असफल पार्नुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार केही प्रतिगामी शक्तिहरूले आन्दोलनमा घुसपैठ गरी संविधान र व्यवस्थापिका संसदलाई कमजोर पार्ने, शान्ति–सुरक्षा भंग गर्ने तथा राज्यका संरचनालाई असफल बनाउन खोजिरहेको देखिएको छ।
लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र, संघीयताको विकल्प अझ सबल संघीयता र गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो। यही बाटो समाते मात्र देशलाई स्थायित्व, सुशासन, विकास र समृद्धितिर डोर्याउन सकिन्छ, डा. राउतले बताउनुभयो।
उहाँले २०८१ जेठ १५ मा जनमत पार्टीले प्रस्तुत गरेको ‘नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको राजनीतिक मार्गचित्र’ नै वर्तमान जेन जी आन्दोलनका मूल एजेन्डासँग मेल खाने स्पष्ट दृष्टि भएको उल्लेख गर्दै परिवर्तनको पक्षमा हुने आन्दोलनहरूलाई पार्टीले निरन्तर साथ र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
डा. राउतले संक्रमणकालीन परिस्थितिको लाभ उठाउँदै प्रतिगामी शक्तिहरूले गरिरहेका गतिविधिप्रति सचेत रहँदै एकजुट भएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षसँग अपील गर्नुभयो।
साथै, उहाँले जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिको सुरक्षाप्रति सजग रहँदै संयमता, उच्च सुझबुझ र शान्तिपूर्ण संवादमार्फत निकास खोज्न पार्टीका सम्पूर्ण नेताकार्यकर्तालाई समेत आह्वान गर्नुभएको छ।



















