महोत्तरी – महिनौंदेखि अवरुद्ध रहेको सोनमा गाउँपालिकाको जग्गा रजिष्ट्रेशन प्रक्रिया आज (बुधबार) देखि मालपोत कार्यालय गौशालामा सुचारु भएको छ।
सोनमा गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादव, वडाध्यक्षसहित जनप्रतिनिधिले जग्गा वर्गीकरणसम्बन्धी सम्पूर्ण कागजात नापी कार्यालय तथा मालपोत कार्यालयमा बुझाएपछि रजिष्ट्रेशन पुनः सुरु गरिएको हो। मालपोत कार्यालय प्रमुख विष्णु कुमार महतका अनुसार कागजात प्राप्त भएपछि अबदेखि नियमित सेवा उपलब्ध हुने भएको छ।
यसअघि वर्गीकरणसम्बन्धी कागजात नबुझाइएको भन्दै डेढ महिनादेखि मालपोत कार्यालयले सोनमा गाउँपालिकाको रजिष्ट्रेशन तथा कित्ता काट्नेजस्ता सम्पूर्ण कामकाज स्थगित गरेको थियो।
गाउँपालिका अध्यक्ष यादवले कार्यालयले बिना जानकारी सेवाप्रवाह ठप्प पारेकोमा आपत्ति जनाउँदै सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोप लगाए। उनले बुधबारदेखि सुरु भएको सेवा सहज र बिना झन्झट प्रवाह गर्न सुझावसमेत दिएका छन्।

नापी कार्यालय गौशालाका प्रमुख किशन साहले भने मालपोत कार्यालयबाट कागजात आएपछि आफ्नो कार्यालयले विना अवरोध सेवा प्रवाह गरिरहेको बताए।



















