ललन मण्डल, महोत्तरी ।
बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक बसन्त प्रसाद यादवले आफ्नै छात्रामाथि ब्ल्याकमेल गर्दै यौन प्रस्ताव राखेको घृणित घटना सार्वजनिक भएको छ।
विगत दुई वर्षदेखि यादवले विभिन्न विद्यार्थीलाई धम्की र लोभ देखाएर अशोभनीय व्यवहार गर्दै आएको स्रोतले दाबी गरेको छ। हालै तेस्रो वर्षमा अध्ययनरत एक छात्रामाथि उनले “सेक्स गरे मात्र परीक्षामा पास गरिदिन्छु” भन्दै बारम्बार फोन र सामाजिक सञ्जालमार्फत अश्लील अडियो, भिडियो पठाएर ब्ल्याकमेल गर्ने प्रयास गरेका थिए।
छात्राको मोबाइलबाट प्रमाण बाहिरिएपछि विद्यालय प्रशासन र प्राचार्य रमन कुमार मेहतासम्म घटना पुगेको हो। घटनालाई गम्भीर मान्दै विद्यालय प्रशासनले सोमबार यादवलाई प्रहरीमा बुझाइसकेको जनाएको छ। तर सोधपुछकै क्रममा उनले प्राचार्यलाई समेत “केही दिनमै मारिदिन्छु” भनेर धम्की दिएको खुलेको छ।
यादव परीक्षा शाखा र आईटी विभागमा समेत कार्यरत थिए। उनको स्थायी घर महोत्तरीको सोनमा गाउँपालिकामा रहेको बताइन्छ।
छात्राले घटनाबारे आमालाई जानकारी दिएपछि विषय सार्वजनिक भएको हो। पीडित छात्रासँग संवाद गर्दा यादवले पटक–पटक अशोभनीय प्रस्ताव राखेको प्रमाण बाहिरिएको प्राचार्य मेहताले जनाएको छ।
अभिभावक र विद्यार्थीहरूले विद्यालय प्रशासन र सुरक्षातन्त्रसँग दोषी शिक्षकलाई तुरुन्त बर्खास्त गरी कडा कानुनी सजाय दिन माग गरेका छन्। उनीहरूको भनाइमा, “विद्यालय शिक्षा दिने मन्दिर हो, त्यहीँका शिक्षकले यस्तो आपराधिक कर्तुत गर्नु शिक्षालयमाथिको कलंक हो।”









