बालबालिकाको भविष्य उज्ज्वल बनाउन कुम्हरौडामा निःशुल्क ट्युसन कक्षा


बालबालिकाको भविष्य उज्ज्वल बनाउन कुम्हरौडामा निःशुल्क ट्युसन कक्षा

ढल्केवर (धनुषा) – धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७, कुम्हरौडामा वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको निःशुल्क ट्युसन कक्षाले स्थानीय बालबालिका लाभान्वित भएका छन्।

विदेशमा कार्यरत युवाले “कुम्हरौडा भगवतीपुर दोहा कतार समाज सेवा” नामक संस्था स्थापना गरी दुई वर्षअघि ट्युसन कक्षा सुरु गरेका हुन्। हाल सो कक्षामा करिब १६० विद्यार्थी अध्ययनरत छन्।

संस्थाका अध्यक्ष देवेन्द्र साहका अनुसार गाउँका १५० भन्दा बढी युवाले महिनाको १०–१५ रियाल सहयोग गर्ने गरेका छन्। सोही रकमबाट आठ जना शिक्षकलाई मासिक चारदेखि पाँच हजार रुपैयाँसम्म पारिश्रमिक दिइने र ट्युसन कक्षा सञ्चालन हुने गरेको छ। विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी सुरु गरिएको ट्युसन अहिले सबै वर्गका बालबालिकाका लागि खुला गरिएको छ।

ट्युसन कक्षाका शिक्षक रामश्रेष्ठ साहले निःशुल्क कक्षाले बालबालिकाको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको बताए। उनका अनुसार यस अभियानले विद्यार्थीलाई मोबाइलको लत तथा अस्वस्थ गतिविधिबाट जोगाइ शिक्षातर्फ आकर्षित गरेको छ।

हाल शिशु कक्षादेखि सात कक्षासम्मका विषयहरू पढाइ हुने गरेका छन्। बालबालिकालाई कापी, कलम र कपडा जस्ता सामग्री पनि संस्थाले उपलब्ध गराउँदै आएको छ।

स्थानीय राजन झाले यो अभियानले शिक्षा मात्र होइन, गाउँको सामाजिक विकासमा पनि योगदान पुर्याएको बताए। उनका अनुसार वैदेशिक रोजगारीमा रहेका युवाको सहयोग र स्थानीय शिक्षकहरूको प्रयासले समाजमा सकारात्मक परिवर्तन देखिन थालेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको