१५ भदौ, जनकपुरधाम –
आर्थिक वर्ष २०८१/८२ मधेश प्रदेश सरकारका लागि पूर्वाधार विकासको उपलब्धिमूलक वर्ष बनेको छ। जनताको जीवनस्तर सुधार र दिगो समृद्धिलाई गति दिन विभिन्न योजनाहरूले ऐतिहासिक उपलब्धि हासिल गरेको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जानकारी दिनुभयो।
उहाँका अनुसार गत आर्थिक वर्षमा ४०६ किलोमिटर ग्राभेल सडक, २५३ किलोमिटर ढलान सडक र ८४ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएका छन्। त्यस्तै ११० वटा कल्भट र ६ वटा पक्की पुल सञ्चालनमा आएका छन् भने ७७ किलोमिटर नयाँ सडक पनि निर्माण भएको छ।
पूर्वाधार विस्तारलाई योजनाबद्ध बनाउन सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत गरेको छ। साथै सडक तथा पुल सम्बन्धी डिजाइन, मापदण्ड, स्पेसिफिकेशन र स्ट्यान्डर्ड पारित गरेको मन्त्री यादवले बताउनुभयो।
जनतामुखी ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अभियानअन्तर्गत दोस्रो चरणमा ३२० किलोमिटर लम्बाइका ६४ सडक निर्माण थालिएको छ। त्यस्तै ‘एक निर्वाचन क्षेत्र, एक पक्की पुल’ कार्यक्रमअन्तर्गत ६४ पुल निर्माणको तयारी भइरहेको छ।
आवास क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको मन्त्री यादवको भनाइ छ। मदन भण्डारी आवास, जनता आवास र महेन्द्रनारायण निधी आवास कार्यक्रममार्फत १,०५७ आवास निर्माण सम्पन्न भइसकेका छन् भने थप ४,००० भन्दा बढी आवास निर्माणाधीन छन्।
त्यसैगरी सामुदायिक भवन, धर्मशाला, सरकारी भवन र सभाहल गरी २०७ संरचना सम्पन्न भएका छन्।
सम्पूरक अनुदानमार्फत ७ सडक, प्रादेशिक सडक अन्तर्गत ३५ सडक र १४ पुल निर्माणाधीन छन्। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) अन्तर्गत २१ वटा स्थानीय तहलाई पक्की सडक सञ्जालसँग जोड्ने काम भइरहेको छ। हालसम्म १५० किलोमिटर पक्की सडक मर्मत र १,२०० किलोमिटर सडकको नियमित मर्मत सम्पन्न भएको छ।
यसैबीच, रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि जग्गा सम्झौता र गुरुयोजना तयार भइसकेको छ भने बजेट व्यवस्थापन प्रक्रिया प्रारम्भ भइसकेको मन्त्री यादवले जानकारी दिनुभयो।









