रामगोपालपुरमा हरित अभियान : १५०० बिरुवा रोपिए


२ भदौ , महोत्तरी — महान् शहीद रामवृक्ष यादवको ३१औँ स्मृति दिवसको अवसरमा युवा कम्युनिष्ट लिग (YCL) नेपालले सोमबार महोत्तरीको रामगोपालपुरमा १५०० बिरुवा रोप्दै हरियाली अभियान सञ्चालन गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी पार्टीका केन्द्रीय नेता सूर्यनारायण साहले वातावरण संरक्षणलाई YCL ले प्राथमिकतामा राखेको बताए। मधेश प्रदेश इन्चार्ज मातृका यादवले जलवायु परिवर्तनलाई ठूलो चुनौती बताउँदै “एक युवाले एक रुख रोप्ने हो भने भविष्य सुरक्षित हुन्छ” भने।

मधेश प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहले “एक रुख काटेपछि दुई रुख रोप्नु सबैको कर्तव्य” रहेको उल्लेख गर्दै नागरिक स्तरमै चेतना फैलाउन आग्रह गरे। प्रमुख अतिथि उपाध्यक्ष पम्फा भुसालले युवालाई शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गरे मात्र देश विकास सम्भव हुने भन्दै “आज रोपिएका रूखजस्तै पार्टीमा जनता रोप्नुपर्छ” भनिन्।

शहीद रामवृक्ष यादव मधेशका अग्रणी क्रान्तिकारी नेता थिए। उहाँकै स्मृतिमा हरेक वर्ष वृक्षारोपण, रक्तदान र सामाजिक अभियान सञ्चालन हुँदै आएको छ। YCL महोत्तरीका अध्यक्ष राजीव साहका अनुसार सहभागीहरूले जिल्लाभर आगामी वर्षसम्म १० हजार बिरुवा रोप्ने संकल्प गरेका छन्।

कार्यक्रममा माओवादी पार्टीका केन्द्रीय–प्रदेशस्तरीय नेता, स्थानीय समाजसेवी, विद्यार्थी र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको