१ भदौ ,बर्दिवास, धार्मिक आस्था र पर्यटन सम्भावनाले ओतप्रोत पञ्चधुरा माईस्थान मन्दिर परिसरलाई व्यवस्थित र सुविधायुक्त बनाउन शनिबारदेखि नयाँ पहल सुरु भएको छ। बर्दिवास नगरपालिका–४ स्थित यस धार्मिक स्थलमा खानेपानीका लागि डिप बोरिङ जडान कार्य औपचारिक रूपमा थालनी गरिएको हो।
नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री र नगर पर्यटन, संस्कृति तथा पूर्वाधार विकास समितिका अध्यक्ष हिरालाल गौतमले संयुक्त रूपमा उद्घाटन गर्दै डिप बोरिङ कार्यको शुभारम्भ गरेका थिए।
स्थानीय विश्वास अनुसार पञ्चधुरा माईस्थानमा पूजा–आराधना गर्दा भक्तजनको मनोकामना पूरा हुने मान्यता रहिआएको छ। विवाह, ब्रतबन्ध, जन्मदिनजस्ता अवसरसहित मेला–पर्वमा यहाँ हजारौँ श्रद्धालुहरूको भीड लाग्ने गर्छ। तर पानीको सहज सुविधा नहुँदा लामो समयदेखि भक्तजन असुविधामा परिरहेका थिए।
उद्घाटन कार्यक्रममा नगरप्रमुख क्षेत्रीले भने, “पञ्चधुरा माईस्थान हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पत्ति हो। यहाँ आउने भक्तजनलाई सहज पानी सुविधा उपलब्ध गराउन यो पहल गरिएको हो। यससँगै मन्दिर क्षेत्रलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि छ।”

त्यस्तै समितिका अध्यक्ष गौतमले मन्दिर क्षेत्रलाई धार्मिक मात्र नभई पर्यटकीय धरोहरका रूपमा विकास गर्न अन्य पूर्वाधार सुधारका योजना अघि बढाइने जानकारी दिए।
खानेपानी सुविधा निर्माण हुने खबरले स्थानीय उत्साहित बनेका छन्। उनीहरूका अनुसार डिप बोरिङले भक्तजनलाई सहज सुविधा दिने मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि मद्दत गर्नेछ। स्थानीय धर्मावलम्बी एक महिलाले भनिन्, “पञ्चधुरा हाम्रो आस्थाको केन्द्र हो। यहाँ आउने श्रद्धालुलाई पानीको सुविधा भएपछि उनीहरूको कठिनाइ हट्नेछ। नगरपालिकाले सुरु गरेको यो काम साँच्चै सराहनीय छ।”
डिप बोरिङसहित पार्क, बत्ती, सरसफाइ, पोखरी सौन्दर्यकरणलगायतका काम हुँदै गएपछि पञ्चधुरा माईस्थान मन्दिर धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानीयको धारणा छ।









