१ भदौ, जलेश्वर, महोत्तरी जिल्लाको कारागारमा एक कैदीको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१४ का ६० वर्षीय राजकिशोर साहको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
शाह शनिबार बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
उनी २०७७ मंसिर ७ गते बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाबसा खातुनको अपहरण, बलात्कार तथा हत्या गरेको अभियोगमा पाँच वर्षपछि, २०८२ असार १५ गते पक्राउ परेका थिए।
उक्त घटनामा शाहका छोरा २६ वर्षीय अरुणकुमार साह तथा उनकी श्रीमती ५१ वर्षीया सुशीला देवी साह समेत संलग्न रहेको बताइएको छ। छोरा अरुणकुमार अहिले महोत्तरीकै कारागारमा रहेका छन् भने सुशीला देवी सिन्धुली जिल्ला कारागारमा थुनामा छिन्।
हत्यापछि बालिकाको शव लुकाउन शाहले छोरालाई सहयोग गरेका थिए। उनी घटनापछि लामो समय भारतमा लुकेर बसेका थिए।



















