वन संरक्षणमा योगदान दिनेहरूलाई सम्मान गर्नु प्रदेश सरकारको प्राथमिकता : मन्त्री यादव


२९ साउन, जनकपुरधाम – डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको एक विशेष सम्मान समारोहमा सामुदायिक, कबुलियती र निजी वनका उत्कृष्ट व्यवस्थापनकर्ताहरू तथा कार्यालयका उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण गरिएको छ।


कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय सन्जय कुमार यादवले पुरस्कार वितरण गर्दै वन संरक्षण, व्यवस्थापन र विकासलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको बताए।

“वन हाम्रो प्राकृतिक सम्पत्ति मात्र होइन, यो हाम्रो जीवन, संस्कृति र भविष्यको आधार हो,” मन्त्री यादवले भने, “वन संरक्षणमा सक्रिय रूपमा योगदान दिने व्यक्ति, संस्था तथा कर्मचारीलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो। यस्ता पुरस्कारले मात्र होइन, सामूहिक प्रतिबद्धता र सहकार्यले पनि दिगो वन विकास सम्भव हुन्छ। प्रदेश सरकारले यसका लागि नीतिगत, प्राविधिक र आर्थिक सहयोगलाई निरन्तरता दिनेछ।”

कार्यक्रममा प्रदेश वन निर्देशनालयका उपसचिव बेचन चौधरी, डिभिजन वन कार्यालय धनुषाका कार्यालय प्रमुख विनोद कुमार सिंह, विभिन्न सामुदायिक र कबुलियती वनका प्रतिनिधि, निजी वन सञ्चालक, स्थानीय बासिन्दा तथा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सुरु हुनु अघि उपस्थित अतिथिहरूलाई स्वागत गर्दै कार्यालय प्रमुख सिंहले पुरस्कार वितरणको उद्देश्य र यसका माध्यमबाट अपेक्षित परिणामबारे जानकारी दिएका थिए।

डिभिजन वन कार्यालय धनुषाका प्रतिनिधिहरूका अनुसार, यस्ता पुरस्कारले वन संरक्षण, व्यवस्थापन र विकासका क्षेत्रमा कार्यरत व्यक्ति, संस्था तथा कर्मचारीलाई अझ उत्साहका साथ काम गर्न प्रेरित गर्नेछ। साथै, यसले स्थानीय समुदायमा वनप्रति स्वामित्वको भावना बढाउने विश्वास व्यक्त गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको