२४ साउन, महोत्तरी – ललन मण्डल।
महोत्तरी । प्राचीन मिथिला क्षेत्रमा आज शनिवार धूमधामका साथ ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाको दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातमा रक्षासूत्र ९डोरा० बाँधिदिने परम्परालाई मिथिलामा ‘राखी’ भनिन्छ ।
सामान्यतया सौरमासको साउनमै पर्ने यो पर्व यस वर्ष अधिकमास ९मलमास०का कारण करिब मध्य भदौतामा परेको हो । पर्व नजिकिँदै गर्दा मिथिलाका बजार राखीमय बनेका छन् । चोकचोकमा रंगीचंगी राखी बिक्रीमा छन् भने मिठाइ पसलहरूमा ग्राहकको भीड छ ।
पर्वका अवसरमा टाढा बस्ने दाजुभाइ घर फर्किएका छन् । विवाहित दिदीबहिनीले माइत वा आफ्नै घरमा पर्व मनाउँछन् भने अविवाहित चेली घरमै तयारीमा जुटेका छन् । घरघरमा मिष्टान्न परिकार बनाइँदै छन् र अभिभावकले स–साना बालबालिकालाई तयारीमा सहयोग गरिरहेका छन् ।
मिथिलाका गाउँसहरमा आज दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, सद्भाव र समर्पण झल्काउने गीत गुन्जिरहेका छन् । परम्परागत रूपमा हिन्दु मैथिल समुदायको यो पर्व अहिले सबै जात, धर्म र भाषाभाषीबीच लोकप्रिय बनेको छ ।
पर्वमा दिदीबहिनीले राखी बाँधेर मिठाइ खुवाएपछि दाजुभाइले वस्त्र, आभूषण वा नगद दक्षिणा दिने चलन छ । रक्षाबन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका विद्वानको भनाइ छ । यस दिन पुरोहितले पनि अभिमन्त्रित डोरा ९रक्षाकवच० बाँधिदिने परम्परा मिथिलामा विद्यमान छ, जसको सम्बन्ध सत्ययुगका दानवराज बलि र उनका गुरु शुक्राचार्यसँग जोडिन्छ ।
पछिल्ला वर्षहरूमा यो पर्वले धार्मिक सीमाना नाघेको छ । मधेसमा बस्ने पर्वते मूलका हिन्दू मात्र नभई इस्लाम धर्मावलम्बी युवाहरूले पनि हिन्दु परिवारकी चेलीलाई दिदीबहिनी मानी राखी बँधाउने गरेका छन् । बर्दिवास नगरपालिका–९ का वडा अध्यक्ष घुरण महतोका अनुसार, यो आपसी मेलमिलाप सामाजिक र सांस्कृतिक सद्भावको अद्वितीय उदाहरण हो ।










