१७ साउन, बर्दिवास — मिथलेश महतो।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले बर्दिवास नगरपालिका–१ मा आफ्नो छैठौँ शाखा सञ्चालनमा ल्याएको छ। शनिबार एक विशेष समारोहका बीच शाखाको समुद्घाटन गरिएको हो।

कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष डा. जैनुद्दीन अंसारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री उपस्थित थिए। साथै बैंकका सञ्चालकहरू बिनोद कुमार खण्डेलवाल, नसरुद्धिन अंसारी र पवन कुमार तुल्स्यानको उपस्थिति रहेको थियो।
विशेष अतिथिका रूपमा उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष श्विष्णु बहादुर खड्का र बर्दिवास क्याम्पसका अध्यक्ष भरत बहादुर हमाल पनि कार्यक्रममा सहभागी हुनु भयो।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङले कर्पोरेट डेभलपमेन्ट बैंक मधेश प्रदेशको एक मात्र कर्पोरेट (विकास) बैंक भएको जानकारी दिनुभयो। हालसम्म बैंकका पाँच वटा शाखाहरू सञ्चालनमा रहेका थिए भने बर्दिवास शाखा थपिएसँगै अब शाखा संख्या छ पुगेको छ।
उहाँका अनुसार बैंकको हालको चुक्ता पूँजी ५२ करोड ५० लाख, निक्षेप संकलन २ करोड २५ लाख र कर्जा लगानी १ करोड ४० लाख रुपैयाँको हाराहारीमा रहेको छ। बैंकमा प्रोफेशनल डाक्टर, बैंकर्स र कलेज सञ्चालकहरू जस्ता पेशागत समूहको लगानी रहेको जनाइएको छ। १७ वर्षदेखि बैंक सञ्चालनमा रहेको यस संस्थाले अब कृषि क्षेत्रमा पनि प्राथमिकता दिने योजना रहेको उल्लेख गरिएको छ।

प्रमुख अतिथि प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाले बैंकलाई हार्दिक स्वागत गर्दै बैंकलाई यहाँ दिगो रूपमा स्थापित गर्नका लागि नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बर्दिवास नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै चालु आर्थिक वर्षको २५ प्रतिशत बजेट कृषि विकासका लागि विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँले बर्दिवासलाई आत्मनिर्भर र समृद्ध नगर बनाउने लक्ष्य सहित बैंक–नगरपालिका सहकार्य महत्वपूर्ण हुने धारणा राख्नुभयो।
कार्यक्रमको समापनमा बैंकप्रति विश्वास प्रकट गर्दै स्थानीय व्यापारी, उद्योगी तथा सेवाग्राहीहरूले शाखा विस्तारलाई स्वागत गरेका थिए।









