२९ पर्सा, वीरगञ्ज — पर्सा जिल्लाको वीरगञ्ज क्षेत्रमा बढ्दो पानी संकटलाई मध्यनजर गर्दै मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवको विशेष निर्देशनमा डिभिजन वन कार्यालयअन्तर्गतका पानी ट्यांकरहरू सर्वसाधारणका लागि परिचालन गरिएको छ।
अत्यधिक गर्मी र खडेरीका कारण विभिन्न स्थानमा पिउने पानीको चरम अभाव देखिएपछि मन्त्री यादवले तत्काल राहतस्वरूप वन कार्यालयमार्फत नागरिकलाई पानी आपूर्ति गराउने व्यवस्था मिलाएका हुन्। मन्त्री यादवले पानीको गम्भीर अभाव भएका स्थानमा प्राथमिकताका साथ ट्यांकर पठाउन निर्देशन दिएका छन्।
“जनताको जीवन र स्वास्थ्यप्रति सरकार गम्भीर छ,” मन्त्री यादवले भने, “जबसम्म नियमित आपूर्ति बहाल हुँदैन, ट्यांकरमार्फत पानी आपूर्ति निरन्तर गरिनेछ।”
डिभिजन वन कार्यालय, पर्साका अनुसार हाल दैनिक रूपमा दर्जनौं स्थानमा ट्यांकरमार्फत पिउने पानी पुर्याउने कार्य भइरहेको छ। स्थानीयवासीहरूले पानी अभावको बेला मन्त्रालयको तर्फबाट गरिएको पहललाई सकारात्मक रूपमा लिँदै आभार प्रकट गरेका छन्।
वीरगञ्जका एक स्थानीय बासिन्दाले भने, “तीन दिनदेखि धारामा पानी आएको थिएन। ट्यांकरले पानी ल्याइदिएपछि राहत महसुस भएको छ।” स्थानीय नजमा खातुनले ट्यांकरबाट आएको पानीले बच्चाहरूलाई नुहाउने र खाना पकाउने सुविधा पुगेको जनाइन्।
स्थानीय जनताको अनुसार, यस्तो कठिन घडीमा मन्त्रालयको सक्रियता जनमुखी र समय सापेक्ष रहेको छ। यस कदमले वन तथा वातावरण मन्त्रालय प्राकृतिक स्रोतको संरक्षणसँगै जनताको तात्कालिक आवश्यकता सम्बोधनमा समेत सक्रिय रहेको सन्देश दिएको छ।



















